गण्डकी
सुस्ताबासीले शुद्ध खानेपानी पाउने

नवलपुर, चैत १-
शुद्ध खानेपानीको अभावमा दिनचर्या बिताउँदै आएका सुस्ता गाउँपालिका–५ सुस्ता टोलबासीले अब शुद्ध खानेपानी पिउन पाउने भएका छन् ।
सुस्ता खानेपानी आयोजनाको नामबाट प्रदेश नम्बर ५ सरकारको आर्थिक लगानीमा खानेपानी आयोजनाको प्रारम्भिक चरणको कार्य पनि थालनी हुन थालेको हो ।
प्रदेश नम्बर ५ का सांसद अजय शाहीले विकट स्थानको रुपमा रहेको सुस्ता टोलमा शुक्रबार खानेपानी आयोजनाको भवन शिलान्यास गरे । सो अवसरमा भवनको शिलान्यास गर्दै सांसद शाहीले विकासको पूर्वाधारबाट बञ्चित सुस्ता भूमिमा प्रदेश सरकारको ध्यानाकर्षणपछि आउने ठूलो धनराशीबाट सुस्तामा खानेपानी, सडक, सौर्य उर्जालगायत विकास बजेट पछि अब सुस्ता पहिचानसहितको सुस्ता बन्दै जाने कुरा बताए । शाहीले आपसी विवादबाट मुक्त भए सबैको विकास हुने कार्यमा सुस्ताबासीहरु ढुक्क रहन पनि सबैमा आग्रह गरे ।
‘सुस्ता बचाऊ अभियान’का अध्यक्ष गोपालप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य आदम हुसेन खान, महिला नेतृ नुरजाह बेगम लैला, रेडियो दाउन्ने स्रोता क्लबका सुस्ता अध्यक्ष रविन्द्र जयशवाल, स्थानीय सुरक्षा निकाय र ठूलो संख्यामा सुस्ताबासीको उपस्थिति रहेको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यालयका प्राविधिक कुलदेव श्रेष्ठले अहिले तीन करोडको लागतमा निर्माण हुने आयोजना २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । सुस्ता खानेपानी आयोजनाको लागि सुस्ता निवासी विजय शाह र छोटे खानले जग्गादान दिएको जानकारी गराइएको छ । लामो समयदेखि खानेपानी भवन निर्माणको कार्यमा ढिलाई हुन थालेपछि सांंसद शाहीको पहलमा सहमति कार्य भई भवन शिलान्यास कार्य सम्पन्न भएको पनि स्थानीय जय प्रकाश जयसवालले जानकारी दिए ।
























