चितवन विशेष
कांग्रेस रत्ननगरका पूर्वसभापति मल्लको निधन

चितवन, फागुन २७-
नेपाली कांग्रेस रत्ननगरका पूर्वनगर सभापति समरकुमार मल्लको निधन भएको छ ।
लामो समयदेखि राजनीतिमा सक्रिय मल्लको ५६ वर्षको उमेरमा आइतबारराति काठमाडौको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तीन महिनादेखि उनको कलेजोमा समस्या देखिएको थियो ।
मल्लको मंगलबार देवघाटमा परम्परा अनुसार अन्त्यष्टि गरिएको हो । उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, टीकाराम न्यौपानेले पार्टीको झण्डा ओढाएका थिए । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका वाग्मती प्रदेशका सहइन्चार्ज काशीनाथ अधिकारी र चितवनका इन्चार्ज कृष्ण खनालले देवघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
विभिन्न सामाजिक काममा सक्रिय उनी रत्ननगर खानेपानी संस्थाका पूर्वसल्लाहकार, रेडक्रस रत्ननगर उपशाखाका पूर्वकोषाध्यक्ष, टिकौली सामुदायिक वनको पूर्वउपाध्यक्ष हुन् । नेपाली कांग्रेस रत्ननगरले मल्लको निधनले अपुरणीय क्षति पुगेको भन्दै शोक ब्यक्त गरेको छ । नगर सभापति रुपनराज घिमिरेले मल्लको निधनले श्रद्धाञ्जली व्यक्त गर्दै उनको संगठन सुदृढिकरणमा असर पुगेको जनाएका छन् ।
























