देश/प्रदेश

कोरोनाको नाममा कालोबजारी गरे कारबाही गर्छौ : मन्त्री भट्ट

Banner

काठमाडौं, फागुन २४-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको कुनै पनि अभाव नहुने स्पष्ट पारेका छन् । अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि उनले चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृतरुपमा गरिएको पनि स्पष्ट पारे । उनले वाणिज्य विभाग र औषधि विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको सुनाए । उनले भने, ‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ । यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’ यसको साथै, बजार व्यवस्थित, कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि गृह मन्त्रालयसँग पनि समन्वय भइरहेको उनले सुनाए ।

साक्षात्कारमा उनले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्नको लागि गृहको सहयोग लिन र उसँग समन्वय गरिने बारे पनि छलफल भएको स्पष्ट पारे । ‘कालोबजारी र बदमासी गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिईँदैन’ उनले भने, ‘तिनीहरुलाई सरकारले कुनै पनि हालतमा बचाउँदैन । हदैसम्मको कारबाही गर्छ । कुनै पनि छुट हुँदैन ।’

मन्त्री भट्टले आफूले आजमात्रै पनि एक औषधि पसलमा गएर स्यानिटाइजेशन माग्दा २० रुपैयाँ आईसीको सामानलाई १५० रुपैयाँको बिल बनाएर पठाएको कुरा औषधि पसलले सुनाएको उल्लेख गरे । उनले भने, ‘त्यही भएर मैले त सामान नै नबेचेको भनेर भन्नुभयो । अर्को कुरा १५ रुपैयाँ पर्ने मास्क पनि ५० रुपैयाँको बिल बनाएको पनि उहाँले सुनाउनुभयो । हरेकले आफ्नो ठाउँबाट दायित्व पूरा गर्नुपर्छ ।’ उनले आफूले समेत एक दिनको लागि पुग्ने खाद्यान्न तथा तरकारी ल्याउने गरेको सुनाए । उनले भने,‘आज बिहान एकजना सञ्चारकर्मी क्वाटरमा आउनुभएको थियो । उहाँलाई मैले मेरो भान्सामा गएर हेर्न सुझाएको थिएँ । हामी त बिहान चाहिने बिहान र बेलुका चाहिने कुरा बेलुका ल्याउने गर्छौं ।’ उनले बजारमा अहिले पनि नुन, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे । उनले उपभोक्ताहरुले चार महिनालाई पुग्ने गरी स्टक राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्कसमेत गरे ।

उनले कुनै पनि खाद्यवस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिने अठोट व्यक्त गरे । यदि कसैले कालोबजारी गरेको पाइए सरकारले कडाभन्दा कडा कारबाही गर्ने र कसैलाई पनि नछोड्ने कडा चेतावनी पनि उनले दिए । उनकाअनुसार अहिले पनि आगामी ६ महिनाको लागि पुग्ने औषधि छ ।  सरकार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा नहोस् भनेर गम्भीर भएको पनि स्पष्ट पारेका छन् । ‘सरकार गम्भीर भएन भनेर हामीमाथि आरोप पनि लाग्ने गरेको छ । तर, यसमा कुनै सत्यता छैन । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै प्रधानमन्त्री केपीशर्मा ओलीले निर्देशन दिएर अलर्ट बनाउनुभएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ’कोभिड–१९’ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन भइसकेको छ । यो समितिको दुईवटा बैठकसमेत बसिसकेको छ’–उनले थपे ।

भारत र चीन दुवैतिरबाट हुनसक्ने समस्याको निराकरण गर्न सरकार गम्भीर रहेको सुनाउँदै उनले भारतको नयाँ दिल्लीमा यसको प्रभाव तथा संक्रमण बढेपछि नेपाल सरकार गम्भीर रहेको पनि विश्वास दिलाए । उनले भने,‘भारतसँगका मुख्य–मुख्य ७ नाका तथा भन्सारमा हामीले कडाई व्यवस्था गरेका छौं। त्यहाँ हेल्थ डेस्क पनि राखेका छौं । चेकजाँच पनि कडाइका साथ भइरहेको छ ।’ त्यतिमात्रै नभएर उनले थप २७ वटा नाका पनि पहिचान गरिएको जनाए । ‘ती नाका तथा सीमावर्ती क्षेत्रमा अहिले कडाइका साथ चेकजाँच गर्ने गरिएको छ’ उनले थपे ।
मन्त्री भट्टले मुख्य–मुख्य नाका तथा भन्सार (स्थलगतमार्ग) अर्थात् सीमावर्ती क्षेत्रमा पनि क्वारेन्टाइन राख्ने व्यवस्था गरिएको स्पष्ट पारे । त्यस्तै, देशभरिका अस्पताललाई आइसोलेशन बेडको व्यवस्था पनि गरिएको उनले सुनाए । देशभरि प्रशिक्षित स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए । उनले भने,‘५२ हजार ग्रामीण स्वास्थ्यकर्मी पनि प्रशिक्षित गरिएको छ । त्यहीअनुसार प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि स्ट्याण्डबाई राखिएको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अत्यन्तै कडाइका साथ चेकजाँच गरिएको उनको भनाइ छ ।

उनले सरकारमात्रै नभएर यो अवस्थामा सत्तापक्ष र प्रतिपक्ष सबै एकतावद्ध ढंगले अघि बढेको पनि सुनाए । उनले भने,‘कांग्रेस सांसद गगन थापाजीले संसदमा सार्वजनिक जरुरीको महत्वको प्रस्ताव पेस गर्नुभयो । त्यसमा हामीले पनि विशेष महत्व दिएका छौं । कोरोनाको संक्रमणबाट बच्नको लागि उच्चस्तरीय राष्ट्रिय एकता बोध भएको छ । अहिले पक्ष र विपक्ष होइन, सबै एकपक्ष भएको पाएका छौं ।’ आफूले हिजो बिहानमात्रै पनि चेम्बर अफ कमर्स, सीएनआई, खुद्रा व्यापार महासंघ, फलफूल तथा तरकारी व्यवसाय महासंघ र विभिन्न संघ तथा संस्थाका प्रतिनिधिसँग छलफल गरेको र उनीहरुले पनि आफूहरु सरकारको अभिन्न अंग भएकोले अनुगमनमा खटिने आश्वासन दिएको मन्त्री भट्टले सुनाए ।

कसैले कृत्रिम अभाव र कालोबजारी गरेको पाइए सरकारले प्रचलित ऐन तथा कानूनअनुसार कारबाही गरिने पनि मन्त्री भट्टको चेतावनी छ । उनले भने,‘सरकार जिम्मेवारपूर्ण लागिपरेको छ । व्यापारी तथा व्यवसायी साथीहरुले पनि हामी राज्य तथा जनताको पक्षमा खडा छौं । मुनाफा गौण कुरा भन्नुभएको छ ।’ यद्धपी उनले कोरोनाको संक्रमणबारे अफवाह फैलाउन काम कसैले पनि गर्न नहुनेतर्फ सबैलाई सचेत गराए । उनले थपे,‘अब ठूलो संकट आईपर्छ । र, केही पनि पाईँदैन् भन्नेजस्ता अफवाह फैलाईएको पाईएको छ, यो मनोविज्ञान त्याग्नुपर्छ । हिजो नाकाबन्दीको जस्तो अवस्था आउँछ कि भन्ने सन्त्रास फैलाउने काम बन्द गर्नुपर्छ ।’ उनले भोलिका दिनमा अत्यावश्यक वस्तुमा संकट आईपर्छ कि भन्ने हिसाबले अहिलेदेखि नै उपभोक्ताले होल्ड गर्ने गरेको पनि सूचना आफूहरुकहाँ आइपुगेको सुनाए । उनले भने,‘म आश्वस्त पार्न चाहन्छु, केही कुराको पनि अभाव हुँदैन् । तपाइहरु ढुक्क हुनुहोस् । हिजो नाकाबन्दी भनेको अर्के स्थिति थियो । आजको स्थिति फरक छ ।’

उनले नेपाल कोरोनाको संक्रमणबाट प्रभावित नभएको दाबी गरे । उनले थपे,‘सरकारको राम्रो तयारी छ । भोलिका दिनमा कसरी रोक्ने भन्नेबारे पनि सरकार गम्भीर छ ।’ उनले अहिले नै खाद्यान्नलगयात अत्यावश्यक वस्तुको अभाव हुन्छ भनेर आँत्तिहाल्नुपर्ने अवस्था भने नरहेको पनि स्पष्ट पारे । उनले भने,‘औषधि र खाद्यान्न पर्याप्त छ । एउटा चिजको आवश्यकत्ता हुँदा चार वटा चिज नराखौं । ग्याँस सिलिण्डरको कुरा गर्दा कसैले पनि घरमा १० सिलिण्डर स्टोर गरेर नराखौं । भरिएको ग्याँस राख्दा दुर्घटना पनि हुनसक्छ ।’ उनले ग्यासको अभाव भए आफूलाई खबर गर्न पनि आग्रह गरे । उनले भने,‘यदि पाउनुभएको छैन भने हामीलाई खबर गर्नुहोस् हामी उपलब्ध गराउँछौं ।’
भारतले नेपाललाई औषधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको सवालमा सोधिएको प्रश्नमा उनले भने,‘हरेक मुलुकले आफ्नो देशमा संकट भएको अवस्थामा अत्यावश्यक वस्तु स्टोर गर्नु सामान्य कुरा हो । भारतले पनि यी–यी वस्तु निर्यात नगर्ने भनेर सूचना जारी गरेको थियो । तर, हामीले भारतसँग कुरा गरेका थियौं । उहाँहरुले पनि अहिले कुनै समस्या छैन । हामी पठाउँछौं भनेको छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले विश्वभरि ७७ देशमा कोरोनाको प्रभाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकोले यसबारेमा अलिक बढी आतंक सिर्जना भएको सुनाए । उनले भने,‘अहिलेसम्म यसबाट मर्नेको संख्या ३२ सय नाघेको छ । चीनबाहेक ८० प्रतिशत यसको संक्रमण कोरिया, इरान र इटालीमा देखिएको छ ।’कोरोनाको आतंक सिर्जना भएपछि नेपालमा अत्यावश्यक वस्तुको माग र भण्डारण भएको हुनसक्ने उनको भनाइ छ । उनले भने,‘तर, यसबारेमा अस्पष्ट र भ्रामक रुपमा प्रचार नगरौं । एक्कासी माग बढेपछि अभाव देखिनु स्वभाविक हो ।’ अग्रवालले अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी नभएको जीकिर गरे । उनले भने, ‘हामीले पनि मनिटरिङ गरिरहेका छौं ।’

उनले व्यापारी तथा व्यवसायी साथीलाई समेत आफूहरुले समस्या समाधान गर्नको लागि अपिल गरिसकेको पनि जनाए । उनले कोरोनाको कारण विश्वव्यापी रुपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकोले नेपालमा पनि यसको प्रभाव पर्नु स्वभाविक भएको स्पष्ट पारे । ‘पर्यटन क्षेत्रमा त झनै नकारात्मक प्रभाव परेको छ । अहिले पनि ९२–९३ प्रतिशत हाम्रो अर्थतन्त्र आयातमुखी नै हो । हरेक देशमा अहिले उत्पादनमा असर परेको छ’ उनले सुनाए । उनले सरकारलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्नसमेत सुझाएका छन् । उनले प्राकृतिक विपद् कतिखेर आउँछ ? भन्ने कुरा कसैलाई पनि थाहा नभएकोले सरकारले पूर्वतयारी गर्नुपर्ने तर्क गरे । उनले भने,‘कम्तीमा पनि तीन वर्षलाई पुग्ने गरी अत्यावश्यक वस्तुको भण्डारण गर्नुपर्छ । बफर स्टकको रुपमा राख्नुपर्छ ।’ कोरोनाको प्रभावबाट जोगिन सक्नुपर्ने उनको प्रार्थना छ । उनले भने,‘हामी यसको झट्काबाट बच्न सकौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>