गण्डकी
नवलपुरमा युवाका लागि सात दिने उद्यमशिलता तालिम

ज्ञानु पंगेनी
नवलपुर, फागुन २१-
नवलपुरको कावासोतीमा युवालाई उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम दिइएको छ ।
युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘समृद्ध नेपालका लागि स्वस्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नारासहित १५ गतेबाट सुरु भएको तालिम आज सकिएको हो ।
तालिमको समापन गर्दैै प्रतिनिधिसभा सदस्य तिलक महतले राज्यले लिएको ‘समृद्ध नेपाल सुखी नेपालीको’ नारालाई साकार बनाउन कर्मठ युवाको भूमिका नै प्रमुख हुनेमा जोड दिएका छन् । विदेशमा गएर जस्तोसुकै काम गर्ने तर नेपालमा त्यही काम स्वदेशमा गर्न लाज मान्ने कारणले पनि विदेशी भूमिमा धेरै नेपाली युवाले ज्यान गुमाउनुपरेको, दुःख पाउनुपरेको भन्दै महतले स्वदेशमा नै युवालाई उद्यमी बनाउन राष्ट्रिय युवा परिषद्ले थालनी गरेको अभियानले सकारात्मक सन्देश दिएको बताए । कुनै पनि उद्यम सञ्चालन गर्नभन्दा पहिले वा गरिरहँदा त्यसका बारेमा राम्ररी बुझेर अघि बढेमा मात्रै सफल भइने कुरालाई मध्यनजर गर्दै सात दिनको तालिम गरेर युवालाई सीप र दक्षता प्रदान गर्ने काम गर्ने युवा परिषद् , रिटर्नी माइगे्रन्ट नेपाल, कावासोती नगरपालिका र एनएमबी बैँक प्रति महतले धन्यवाद दिए ।
तालिममा जिल्लाभरबाट ४० युवाको सहभागिता रहेको थियो । सहभागीले उद्यम वा कुनै पनि व्यवसाय गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्दो रहेछ भन्ने वित्तीय व्यवस्थापनबारे जानकारी पाएको बताए । तालिममा राष्ट्रिय युवा परिषद्का अर्जुनप्रसाद भट्टराई र देवेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए । तालिममा कावासोती नगरपालीकाकी प्रमुख चन्द्रकुमारी पुन, राष्ट्रिय, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्णचन्द्र पोखरेल, एनएमबी बैँक कावासोती शाखाका शाखा प्रबन्धक प्रकाश थापालगायतले बोलेका थिए ।
कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष थनेतले रिटर्नीले युवा र विषेश गरी वैदेशिक रोजगारीबाट फर्किएर आएका युवालाई लक्षित गरेर विभिन्न तालिम र सीपमूलक तालिम सञ्चालन गर्दै आएको र छिट्टै नै अन्य सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिए । युवाले नै देश बनाउन सक्ने हुँदा युवालाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावना जगाउन पनि रिटर्नी लागि परेको थनेतले बताए ।
























