देश/प्रदेश
महोत्तरीका एक वडाध्यक्ष भारतीय भएको भन्दै स्थानियले हाले उजुरी

जलेश्वर, फागुन १९-
महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का वडाध्यक्ष जीतेन्द्र चौधरी भारतीय नागरिक रहेका भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
रामगोपालपुर–८ बस्ने हरिश्चन्द्र ठाकुरले वडाध्यक्ष चौधरी भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन । उजुरीकर्ता ठाकुरले उजुरीसँगै भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी तथा उनका बुबाको नाम उल्लेख भएको छायाकपी र उनले २०१९ मा भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा भोट खसालेको प्रमाणसमेत पेश गरेका छन ।
स्थानीय तहको निर्वाचनमा वडा नं ५ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष चौधरीसँग दोहोरो नागरिकता रहेको भन्दै ठाकुरले सप्रमाण एक महिना पहिले नै उजुरी दर्ता गराए पनि त्यस उजुरीमाथि हालसम्म कुनै कारवाही नभएको उजुरीकर्ता ठाकुरले आरोप लगाएका छन । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वडाध्यक्ष चौधरीविरुद्ध निवेदन आएको र सो निवेदनमाथि आवश्यक अनुसन्धान भइरहेको बताए । रासस























