देश/प्रदेश
कोरोना प्रभावः उपराष्ट्रपति पुन सार्वजनिक कार्यक्रममा सहभागि नहुने

काठमाडौं, फागुन १९–
विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रममा सहभागि नहुने भएका छन् ।
कोरोनाको सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्नुको साथै थप कार्यक्रम नलिन नीजि सचिवालयलाई निर्देशन दिइ सकेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरिएको उनले बताए ।
सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सृजना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उपराष्ट्रपति अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी हुने छैनन् । साथै, उपराष्ट्रपति पुनले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रण सम्बन्धी सरकारको योजनामा सघाउन अपील गर्दै नआत्तेर सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।























