गण्डकी
बागलुङ र पर्वतमा रूखले किचेर दुईजनाको मृत्यु,एक घाइते

बागलुङ,फागुन १३-
छुट्टाछुट्टै स्थानमा रूखले किचेर दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। बागलुङमा सामुदायिक वनमा पुगेर घर बनाउनका लागि रूख ढाल्ने क्रममा सोही रूखले किचेर यहाँका एकजनाको मृत्यु भएको छ।
बागलुङ नगरपालिका-७ तितौरेका ४६ वर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको हो। मंगलँबार दिउसो उनी तितौरे सामुदायिक वनमा रूख ढाल्न गएका थिए। रूखले किचेपछि गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो। उनको अस्पताल ल्याइपुर्याउँदा दिउसो साँढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमबहादुर केसीले जानकारी दिए। कार्कीसँगै रूख ढाल्न गएका ४२ वर्षीय पदम कार्की घाइते भएका छन्।
यसैबीच पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङका सुरज परियारको पनि मंगलबारै रूखले किचेर मृत्यु भएको छ । घरछेउमै रूख ढाल्ने क्रममा सोही रूखले परियारलाई किचेको थियो। उनको पनि मंगलबार दिउँसै उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पताले उनको पनि मृत्यु भएको घोषणा गरेको थियो।
























