अन्तर्राष्ट्रिय
नागरिकता संशोधन कानूनलाई लिएर दिल्लीमा भिडन्त, सात जनाको मृत्यु

काठमाडौं, फागुन १३-
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको हो ।
विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकहरूको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
दिल्लीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री अमित शाहले बैठक बोलाएका छन् । गृहमन्त्री शाहसँगको बैठक पूर्व दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरी भिडन्त भएको क्षेत्रमा प्रहरीको संख्या कम रहेको र प्रहरीसँग कारवाही गर्ने अधिकार पनि नरहेको बताएका छन् । लाठी चार्ज गर्ने तथा हवाई फायर गर्ने बाहेकको आदेश प्रहरीले नपाएको उनले बताएका छन् ।
बाहिरबाट धेरै मानिस आएकाले सीमा बन्द गर्ने तथा शंका लागेकाहरुलाई पक्राउ गर्नु पर्ने उनले बताएका छन् । उनले सबै धर्म मान्ने व्यक्तिको शान्ति बैठक गर्न र त्यसमा स्थानीय विधायक पनि सहभागी हुन भनेका छन् ।
उपचारको क्रममा मंगलबार बिहान अन्य तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।


























