राजनीति
बाबुराम भट्टराई भन्छन् – ओलीले आकाशतिर थुक्दा आफ्नै मुखमा पर्यो

पर्वत, फागुन १०-
शनिबार पर्वतमा आइपुगेका समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर फर्केर थुक्दा त्यही थुक आफ्नै मुखमा परेको बताएका छन् ।
पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज पर्वतमा आइपुगेका अध्यक्ष भट्टराई प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याउने दुस्साहस गरेको दाबी गर्दै अहिलेको सरकार भ्रष्टाचारको नमुना भएको बताएका छन् । ‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ । अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो । मतिर फर्केर आकाशतिर थुक्नुभयो ८ गते त आफ्नै मुखमा पर्यो ।’
उनले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ । मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ । त्यसैले योभन्दा बढी केही पनि भन्दिनँ ।’ प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकोले कमिशनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको दाबी गरे ।
प्रधानमन्त्रीले समृद्धि भइरहेको दाबी गरेर सरकारका गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको तर पछिल्ला केही दिनमा पापको घैँटो भने फुटेको बताए। ‘यो दुई वर्षमा विकास र निर्माणको कुनै आभास भएको थिएन। तर के गर्न सकेको रहेछ भन्ने त काण्डै-काण्डले देखाएको छ’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘एनसेल काण्ड हुँदै, वाइड बडी, यति काण्ड हुँदै अहिले प्रिन्टिङ प्रेसको काण्ड त फुत्त बाहिर आयो नि ।
कार्यक्रममा नेकपा र नेपाली कांग्रेसको राजनीति गर्दै आएका तथा आस्था राख्दै आएका दर्जनौँ व्यक्ति डा भट्टराईको हातबाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
























