खेलकुद
हिँड्डुल गर्न नसक्ने भए फुटबलर पेले

एजेन्सी, माघ २८-
विश्व फुटबलका महान खेलाडी पेले स्वास्थ्य अवस्थाका कारण घर बाहिर निस्कन मन नगर्ने अवस्थामा रहेको उनका छोराले बताएका छन् । तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ ।
एक्लै हिँडडुल गर्न नसक्ने भएपछि महान ब्राजिलियन फुटबलर पेले घरबाहिर निस्कन छाडेका उनका छोराले बताएका हुन् ।
तीनपटकको विश्वकप फुटबल विजेता तथा सर्वकालिन फुटबल खेलाडी पेलेलाई मुत्र संक्रमण भएपछि गत वर्ष अस्पताल भर्ना गर्नुपरेको थियो ।
७९ वर्षिय पेलेलाई कम्मरसम्बन्धी समस्या रहेको छ जसका कारण उनलाई हिँड्डुल गर्नका लागि फ्रेमको आवश्यक्ता पर्ने गरेको छ । यसै समस्याका कारण केही समय यता पेले सार्वजनिक कार्यक्रमहरूमा ह्वीलचेयरमा देखिदैं आएका छन् ।
‘उहाँ आजकल निक्कै निष्क्रिय र एक्लै बस्न रुचाउने हुनुभएको छ’, पेलेका छोरा एडिन्होले टिभी ग्लोबोसँग भने ।
सर्वकालिन महान् फुटबल खेलाडी पेलेले आफ्नो २१ वर्ष लामो फुटबल करियरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका छन् जुन आफैमा विश्व रेकर्ड हो ।
उनले ब्राजिलका लागि ९१ खेल खेल्दै ७७ गोल गरेका छन् ।
पछिल्ला केही वर्षयता उनको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिदैं आएको छ । ६ महिनाको अवधिमा दोश्रो पटक अस्पताल भर्ना गर्नुपरेपछि छ सन् २०१५ मा उनको प्रोटेस्टेडको सर्जरी गरिएको थियो ।
‘कल्पना गर्नुस्, उहाँ राजा हुनुहुन्थ्यो जसको कस्तो आकर्षक परिचय थियो र आजको दिन छ, उहाँ राम्ररी हिँड्डुल गर्न सक्नुहुन्न’, एडिन्होले भने ।
यसै वर्षको जुनमा पेलेले अन्तिम विश्वकप जितेको ५० वर्ष पुग्दैछ ।
























