चितवन विशेष

चितवनमा रंगशाला निर्माणार्थ भोलीदेखी धनधान्याचल महोत्सव, तयारी पुरा

Banner

चितवन,माघ १८

चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आइतबारदेखी धनधान्याचल महोत्सव शुरु हुँदैछ । २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको आइतबार २२ बिधाका २२ जना ख्यातीप्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गर्ने प्रदेश सांसद समेत रहेका मुल आयोजक समिति संयोजक बिजय सुबेदीले जानकारी दिए ।

उद्घाटन समारोहलाई भव्य बनाउन मह जोडीको रुपमा चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको बिशेष उपस्थिती रहने सुवेदीले बताए । मह जोडीले दीप प्रज्वलन गरेर उद्घाटन गर्ने उनले बताए । उद्घाटन दिउसो २ बजे हुनेछ ।

त्यसअघि बिहान झाँकीसहितको वृहत शोभायात्रा निकालिने उनले जानकारी दिए । बिहान ११ बजे मंगलपुर बजारबाट शुरु हुने शोभा यात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचल महोत्सव परिसरमा पुग्ने उनले बताए । आफ्नो संघसंस्थाको ब्यानरसहित शोभायात्रामा उपस्थित हुने सुबेदीले सबैलाई आग्रह गरेका छन् ।

यसैबीच आइतबारबाट शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिएका छन् । महोत्सव स्थल सिंगार्नेदेखि स्टल र भोजनालय निर्माणको काम पनि सम्पन्न भईसकेको चुकेले बताए । जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थप आर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गर्न लागिएको हो । पण्डित दीनबन्धु पोखरेलबाट वाचन हुने श्रीमद्भागवत माहापुराणमा भजनकिर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ । चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक ब्यक्ति समक्ष रंगशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको छ ।

उद्योग बाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएनए, लायन्स तथा जेसिज लगायत विभिन्न सामाजिक संघसंस्थाहरुलाई केन्द्र मार्फत हरेक जिल्ला तथा त्यस मातहत रहेका निकायलाई महायज्ञमा जोड्ने प्रयास गरिएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए । देशभरका ७५३ स्थानीय तह र ७७ वटै जिल्लालाई सहयोगका लागि अनुरोध पठाइएको छ ।

महोत्सवबाट ५० रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>