देश/प्रदेश

गणितलाई पाठ्यक्रममा अनिवार्य नबनाए आन्दोलनको चेतावनी

Banner

काठमाडौं, माघ १३-

गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाइएपछि त्यसको विरोध सुरु हुन थालेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरुले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुप–२०७६ बाट ओझेल पारिएको भन्दै विरोध गरेका हुन् । गणितका विज्ञहरुले गणितलाई अनिवार्य गरिनुपर्ने माग गरेका छन् ।  उनीहरुले ‘गणित विज्ञानको पनि विज्ञान’ भएको भन्दै पाठ्यक्रम प्रारुपमा समेट्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र विषय समितिका अध्यक्ष प्रा.डा. राममान श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रुपमा राखेको भन्दै कडा आपत्ति जनाए । उनले भने,‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारुप आएपछिमात्रै थाहा पाएँ । यस्तो बैठकमा मलाई कहिल्यैपनि बोलाइएन र म गएको पनि छैन ।’

कार्यक्रममा त्रिवि गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाले कम्तिमा विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य र अरु विषयलाई ऐच्छिक राख्नुपर्नेमा जोड दिए । प्राध्यापक धमलाले भने,‘स्कुलमा गणित विषयमा अनुतिर्ण भएको डेटा देखाउँदै ११ र १२ कक्षामा गणित कठिन भयो भन्नु लज्जास्पद विषय हो ।’

त्यस्तै, नेपाल गणित समाजका सभापति प्राडा. चेतराज भट्टले अहिले ल्याइएको प्रारुपमा गणित तथा विज्ञानका विद्यालाई ओझेलमा पार्नु दुःखको विषय भएको टिप्पणी गरे । उनले दातृ संस्थाले दिएका अनुदानलाई हेरेर उत्तिर्ण प्रतिशत बढाउने नाममा गणितलाई यसरी ओझेलमा पार्नु गलत भएको स्पष्ट पारे ।  त्रिवि. ईन्जिनियरिङ संस्थानका सहायक डिन प्रा.डा. ज्ञानबहादुर थापाले हालै त्रिविको अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट ५० अंक बनाइएको जनाउँदै गणितको महत्व ईन्जिनियरिङ पढ्ने विद्यार्थीको लागि कति छ भन्ने कुरा पुष्टि भएको बताए ।

कार्यक्रममा त्रिवि गणित शिक्षा केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. वेदराज आचार्यले गणित विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा नसमेटिँदा गणित पढ्न ईच्छुक विद्यार्थी बञ्चित हुनुपर्ने बाध्यता औंल्याए । कार्यक्रममा नेपाल गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा. जिवन काफ्लेले गणित प्राकृति र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग हुने विषय भएको सुनाउँदै यो विषको जगबिना अन्य कुनै पनि विषयको दक्षता हाँसिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नुमात्रै भएको टिप्पणी गरे ।  उनले भने,‘पाठ्यक्रम विकास केन्द्रले अहिले ल्याएको पाठ्यक्रम प्रारुप खच्चडजस्तो भयो । यो पाठ्यक्रम प्रारुपले सिर्जना र आविष्कार गर्न सक्दैन । अझ सरकारले ल्याएको राष्ट्रिय शिक्षा नीतिमा सबै तहको शिक्षामा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित शिक्षा (स्टिम एजुकेशन) लाई पाठ्यक्रमको अभिन्न अंग बनाउने कुरा उल्लेख गरिएको छ । सीडीसीले ल्याउन खोजेको पाठ्यक्रमको प्रारुपमा यो नीतिलाई पूर्णरुपमा बेवास्ता गरेको देखिन्छ । यो सुहाउँदो कुरा होईन् ।’

कार्यक्रममा वमुन अफ नेपाल ईन म्याथमेटिकल साईन्स (ओनिम्स्) का उपाध्यक्ष डा. नीलम सुवेदीले विगत दुई वर्षभन्दा अघिदेखि आफूहरुले पाठ्यक्रम प्रारुपको बारेमा बारम्बार सचेत गराएको बताउँदै भनिन्,‘हामीले सचेत गराउँदा गराउँदै गणित विषयलाई पाठ्यक्रम प्रारुपमबाट बेवास्ता गरियो, यो दुःखदायी कुरा हो ।’

त्यस्तै, स्कुल स्ट्रक्चरका संयोजक तथा नेपाल गणित समाजका केन्द्रीय सदस्य हरि प्रपन्न कँडेलले यस्तै पाठ्यक्रम हुबहु लागू गरेको खण्डमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । उनले उक्त पाठ्यक्रम तत्काल सच्याउनुपर्ने माग गरे । उनले भने,‘यदि जबरजस्ती यो पाठ्यक्रम प्रारुप हुबहु लागू गरिए, देशमा आन्दोनलको ठूलो आँधीबहेरी आउनेछ । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा राज्यले लिनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>