देश/प्रदेश
प्राकृतिक सुन्दरतामा लपेटिएको इण्डोनेशियाका पुग्नै पर्ने यि ठाउँ

चितवन, माघ १३-
१७,५०८ द्वीपहरू भएको इण्डोनेशियाको जनसङ्ख्या लगभग २३ करोड छ । यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भयेको देश हो । दुनियामा सबैभन्दा धेरै मुस्लिम आबादी भयेको देश हो ।
एशिया महाद्वीपको निकै सुन्दर मध्यकै एउटा देश इण्डोनेशिया पर्यटनका हिसाबले आकर्षक त छ नै, त्यसका साथै त्यहाँ पुग्ने पर्यटकले इतिहास, प्रकृति र अध्यात्मलाई समेत नजिकबाट नियाल्ने अवसर पाउँछन् ।
यदि तपाईं पनि त्यहाँ जाँदै हुनुुहुन्छ भने यि स्थानहरुमा पुग्न नबिर्सिनुहोला ।
बैतुरहमान मश्जिद :
इण्डोनेशियाका विभिन्न प्रसिद्ध मश्जिदमध्येकै एक बैतुरहमान मश्जिद त्यहाँको सुन्दर शहर बान्दा अकेको मध्यभागमा अवस्थित छ । इण्डोनेशियाको संस्कृति र सम्बृद्धिको प्रतिक समेत मानिने यस मश्जिदलाई सन् २००४ सालमा त्यहाँ आएको सुनामीले नराम्ररी प्रभावित पारेको भएपनि यसको महिमामा भने कुनै कमी आएन ।
यस मश्जिदको डिजाइनले त्यहाँको स्थानीय परम्परा एवम् मुगल भारतीय कलालाई दर्शाउँछ ।
माउण्ट ब्रोमो :
इण्डोनेशियाको पूर्वी जावामा अवस्थित माउण्ट ब्रोमोलाई इण्डोनेशियाकै सबैभन्दा बढी चर्चित प्राकृतिक पर्यटन स्थलकारुपमा लिइन्छ । इण्डोनेशियामा रहेका विभिन्न ज्वालामुखी पर्वतहरुमध्ये माउण्ट ब्रोमो सबैभन्दा लोकप्रिय मानिन्छ ।
विशेषगरी सुर्योदयको समयमा माउण्ट ब्रोमो घुम्नका लागि विश्वभरबाट पर्यटकहरु आउने गर्दछन् ।
टोबा लेक :
इण्डोनेशियामा प्राकृतिक सौन्दर्यताको कुरा गर्दा टोबा लेकको नाम सबैभन्दा अघि आउने गर्दछ । १०० किलोमिटर लम्बाई तथा ३० किलोमिटर चौडाई रहेको यस लेकको सुन्दरताको जति बयान गरेपनि कम हुन्छ ।
५०० मिटर गहिरो यस लेकलाई दानौ टोबा पनि भनिन्छ । लगातार हजारौंको सँख्यामा पर्यटक आउने यो लेकलाई ७० हजार वर्ष पुरानो भएको बताइन्छ ।
कोमोडो नेशनल पार्क :
इण्डोनेशियाको फ्लोरोसमा अवस्थित कोमोडो नेशनल पार्कको महिमा बेग्लै छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत यस पार्कमा रहेको माउसुली आकारको कोमोडो ड्रयागनले त्यहाँ घुम्न आउने जो कोही पर्यटकको मन जित्ने गर्दछ ।
१० फिट लामो उक्त ड्रयागनको वजन १ सय ५० किलोग्राम रहेको छ । साथै, सर्प आकारमा रहेको सो कोमोडोको जिभ्रोले सबैलाई आश्चर्य चकित पार्छ ।
धानको पार्क :
पर्यटकीय हिसाबले बाली द्वीप विश्वभर नै चर्चित छ । इण्डोनेशियाको प्रमुख भोजनका रुपमा रहेको धान फल्ने यहाँका खेतहरुले सजिलै पर्यटकको मन लोभ्याउने गर्दछ ।
यसका साथै बाली द्वीपमा रहेका नरीवलका रुखहरु तथा त्यहाँको ‘नाइट लाइफ’ देखि पनि पर्यटकहरु मन्त्रमुग्ध हुने गर्दछन् ।
पारम्परिक गाउँ :
तना टोराजा इण्डोनेशियाको दक्षिण सुलावेशी प्रान्तमा अवस्थित पहाडी इलाका हो । पहाडहरुको मध्यभागमा रहेको यस साँस्कृतिक द्वीपको सुन्दरता गज्जबको छ ।
इण्डोनेशिया पुग्ने लगभग सबैजसो पर्यटकले यस ठाउँ घुम्न छुटाउँदैनन् ।
समुद्री पार्क :
इण्डोनेशियाको राजा अम्पेट द्वीपको पुरा विश्वभर नै आफ्नै पहिचान छ । इण्डोनेशियाकै सबैभन्दा विशाल समुद्री पार्ककारुपमा परिचित यस द्वीपमा १००० भन्दा बढी प्रजातिका माछा, कछुवा तथा सयौं जातीका मुगा आदी पाइन्छ ।
विशेषगरी समुद्रभित्र डुबुल्की मार्नका लागि विश्वभरबाटै पर्यटक यहाँ आउने गर्छन् ।
लम्बोक द्वीप :
इण्डोनेशियाको लम्बोक द्वीपलाई प्रकृतिको सुन्दर रचनाकारुपमा समेत लिइन्छ । प्रमुख पर्यटन स्थलहरुमा गणना हुने यस स्थानको अवलोकनका लागि विश्वभरबाटै पर्यटक आउने गर्दछन् ।
इण्डोनेशियाको बाली द्वीपको निकटमै अवस्थित यस ठाउँमा हनिमुनका लागि समेत जोडीहरु पुग्ने गर्दछन् ।
प्रमबनन् मन्दिर :
इण्डोनेशियाको योगकार्टामा प्रमबनन नामक एक मन्दिर रहेको छ । निकै प्रसिद्ध यस मन्दिर ९ वौं शताब्दीमा त्रिमुर्ती अर्थात हिन्दुहरुका देवता ब्रम्हाका लागि निर्माण गरिएको जनविश्वास छ । यस मन्दिरमा सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु एवम् देवहरुका पनि देव महादेवको प्रतीमा स्थापित छ ।
यनेस्कोले समेत यस मन्दिरलाई विश्व सम्पदाको सूचीमा समावेश गरेको छ । दक्षिणपूर्वी एशियाकै सबैभन्दा ठूलो यस हिन्दु मन्दिरलाई प्राचिन वास्तुकलाको नमूनाकारुपमा समेत लिइन्छ ।
उल्वातु मन्दिर :
भारतीय महासागरदेखि ७० मिटर माथि अवस्थित विशाल चुना पत्थरको काखमा बसेको यो मन्दिर एैतिहासिक हिसाबले निकै महत्वपूर्ण छ । बालीको बुकिट प्रायद्वीपमा अवस्थित यो मन्दिरको निर्माण ११ औं शताब्दीतिर भएको अनुमान गरिन्छ ।
सूर्योदय वा सूर्यास्तको समयमा यो मन्दिरको दृश्य साँच्चै नै हेर्न लायक हुन्छ ।
– एजेन्सीको सहयोगमा
























