कृषि
ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला हुँदै

काठमाडौं, माघ १२-
अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजंघा टीस्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ ।
चार दिनसम्म चल्ने उक्त मेला भने पाटन सङ्ग्राहलय, ललितपुरमा गरिने भएको हो । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने कार्यक्रम रहेको छ । आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त मेलाबारे जानकारी गराइएको हो । नेपालका अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यकत्ता महसुस गरी अर्गानिक मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएका छन् । मेलाको सहआयोजकका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्रालि र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिज प्रालि रहेका छन् ।
आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हरेक प्राणी एवम् मनुष्यका लागि स्वास्थ्य सबैभन्दा पहिलो शर्त रहेछ । अस्वस्थ मानिसबाट परिवार वा समाजले केही अपेक्षा गर्न सक्दैनन् । घरको एक सदस्य अवस्थ हुँदा पूरै परिवारलाई त्यसको नकारात्मक असर पर्छ । जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिनु आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैविक र वैदिक हुन पर्दछ । जसको सेवनबाट मानिस निरोगी हुन सकोस् भन्ने यो मेलाको उद्देश्य रहेको छ ।’
आयोजक संस्थाका अनुसार उक्त मेलाको मुख्य उद्देश्यमा नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने रहेको छ ।
त्यस्तै, उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने, स्वस्थ भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ता हितको संरक्षण र सम्र्बद्धनमा सहयोग पु¥याउने र अर्गानिक विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरक्रियामार्फत् सरोकारवालालाई जानकारी उपलब्ध गराए पनि अन्य मुख्य उद्देश्य रहेको जनाइएको छ । कार्यक्रममा मेलाकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढी स्टलहरु रहने जानकारी दिइन् । उनकाअनुसार त्यस सम्बन्धमा नेपालभित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीसँग समन्वय गरिएको छ । उनले भनिन्, ‘मेलाको गतिविधि आमसञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गराउन सजिलो होस् भन्ने उद्देश्यले मेला अवधिभर मिडिया कर्नरको समेत व्यवस्थापन गरिएको छ ।’
उनले मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु, फलफूल, बिउबिजन, मह, तेल, राडी, पाखीलगायत रहने जानकारी दिइन् । त्यस्तै, मेलामा अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापारसम्बन्धी प्रोजेक्टहरु सम्बन्धमा पनि जानकारी तथा सूचना समेत प्रवाह गरिने उनको भनाइ छ । आयोजक संस्थाकाअनुसार उक्त मेलामा ३० लाख खर्च हुने अनुमान गरिएको छ । मेलामा एक करोडको कारोबार हुने पनि आयोजकले अपेक्षा लिएको छ ।
























