देश/प्रदेश

रोटरीका पाँच अर्बका परियोजना

Banner

चितवन माघ १२-

सामाजिक क्षेत्रमा सक्रिय देखिएको रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले चालु आर्थिक वर्षमा रु पाँच अर्ब बराबरका सामाजिक विकासका काम गरिरहेको छ । रोटरीले छ क्षेत्रमा काम गर्ने गर्दछ ।

रोटरीले शान्ति, खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, आमा– बच्चाको सुरक्षा र स्थानीय व्यवसाय प्रवद्र्धनमा काम गर्ने गर्दछ । रोटरी ईन्टरनेशनल ३२९२का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठका अनुसार यस डिष्ट्रिक्ट अन्तर्गतका नेपालका १२४ र भुटानको एउटा क्लबमार्फत रु पाँच अर्ब बराबरका विभिन्न परियोजना सञ्चालनमा छन् ।

सम्बन्धित रोटरी क्लब, अन्तरराष्ट्रिय साझेदार क्लब र अन्तरराष्ट्रिय रोटरी फाउण्डेसनको संयुक्त लगानीमा परियोजना सञ्चालन भएका हुन् । स्थानीय क्लब र साझेदार क्लबले ४० प्रतिशत रकम जम्मा गरेपछि फाउण्डेशनले त्यसमा ६० प्रतिशत रकम थप गरेर परियोजना सम्पन्न गर्न सहयोग गर्ने श्रेष्ठको भनाइ छ ।

रोटरीले नेपालमा यस वर्ष २२ विद्यालय भवन, तीनवटा क्याथल्याब, विभिन्न खानेपानी परियोजना, १० अस्पताल, स्पाइनल ईन्जुरी अस्पताल, ग्रामीण शौचालय, कृषिमा नयाँ प्रविधि, प्रौण शिक्षा लगायतमा काम गरिरहेको छ । डिष्ट्रिक्ट ३२९२का भाइस गभर्नर अनिल थपलियाका अनुसार सन् २०२० मा परियोजना सम्पन्न गर्न यस डिष्ट्रिक्टबाट २२ लाख डलर फाउण्डेसनमा जम्मा हुने भए पनि अन्य सबै रकम फाउण्डेसनले उपलब्ध गराउने छ ।

उनका अनुसार डिष्ट्रिक्टभित्रका सबै क्लब उत्तिकै क्रियाशिल भएका कारण अन्तरराष्ट्रियस्तरमा यो डिष्ट्रिक्टको छुट्टै पहिचान रहेको छ । यसै डिष्ट्रिक्टका पूर्वगभर्नर सञ्जय गिरीका अनुसार पछिल्ला वर्षमा रोटरीका गतिविधि तिव्रगतिमा अघि बढेका छन् । सन् १९५९ मा नेपालमा पहिलो रोटरी क्लबका रुपमा रोटरी क्लब अफ काठमाडौँ स्थापना भएको थियो । नेपालमा नै डिष्ट्रिक्टको स्थापना भने सन् २००८ मा मात्र भएको हो । हालसम्म रोटरीले रु १५ अर्बभन्दा बढिका विभिन्न परियोजना सम्पन्न गरेका गिरी बताउछन ।

विश्वका २२१ देशमा ३५ हजारभन्दा बढी रोटरी क्लब रहेका छन् । गभर्नर श्रेष्ठ ती क्लबका १२ लाख ५० हजार सदस्य, भगिनि क्लब रोट्याक्टका दुई लाख ५८ हजार सदस्य, ईन्ट्याक्ट क्लबका तीन लाख १० हजार सदस्य, रोटरी स्पाउसका चार लाख र सामुदायीक रोटरी सहयोगी चार लाख सबै निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका बताउछन ।

सामाजिक अभियानमा सक्रिय यहाँको रत्ननगर रोटरी क्लबका अध्यक्ष विपिन पोख्रेल दुई अर्ब ५० करोड बालबालिकालाई पोलियो खुवाएर अन्तरराष्ट्रियरुपमा परिचित रोटरीका सबै सदस्य निरन्तर सामाजिक गतिविधिमा सक्रिय भएकै कारण सबैले चिन्न सकेको बताउछन ।सर्वसाधारणको साथ र सहयोगकै कारण रोटरी यो अवस्थामा पुगेको उनको भनाइ छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>