देश/प्रदेश

चिकित्सकहरुले भने: नेपालमा कोरोना भाइरस फैलिने खतरा छ

Banner

काठमाडौं, माघ ११-

चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यरबारेमा सचेत गराएका छन् । तर, धेरै डराइहाल्नुपर्ने अवस्था नरहे पनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाव दिएका हुन् ।

शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा गरेको विशेष साक्षात्कारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्वतयारी गरेको पनि श्रेष्ठले बताए । ‘कोरोना भाइरस अध्ययनकै विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिति छैन’ श्रेष्ठले भने ।

साक्षात्कारमा प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाए । चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ । ‘स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो । उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन ।’ श्रेष्ठले भने ।

तर, चीनसँगको सिमाना नजिक भएकोले नेपालमा पनि कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाइ छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागू भइसकेको श्रेष्ठले बताए ।

चीनसँगका नाका तथा त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । ‘शंका लागेमा सिधै टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौँ । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँ ।’ टेकुमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा रखिएको श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले जनतालाई पनि सचेत गराउनुपर्ने भन्दै धेरै डराउनुपर्ने अवस्था भने नरहेको बताए । कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य संगठनले पनि अध्ययन गरिरहेको जानकारी दिदै श्रेष्ठले नेपाल पनि चनाखो भएर बसेको बताए । ‘नसर्ने रोग भए डराउनुपर्थेन । यो रोग सर्ने खालको हो । किटाणु र भाइरसमार्फत सर्ने रोगहरु विगतमा धेरै देखिइसकेको छ । मौसम परिवर्तनले नयाँ रोग देखिने र नेपालमा पनि भित्रिने गरेको छ ।’ श्रेष्ठले भने ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिँदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए । अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनले दाबी गरे ।

‘कोरोना भइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौँ ।’ उनले भने ।

नेपालमा एक जनामा संक्रमण देखिए पनि ति व्यक्ति चीनबाट आएकाले नेपालमा रहनेलाई संक्रमणको खतरा धेरै नभएको उनको जीकिर छ । “नेपालमै संक्रमण भएको हैन । चीनबाट आएको हुनाले देखिएको हो । उहाँबाट अरुलाई सर्ने सम्भावना छैन । उहाँ पनि पूर्ण निको भएर घरमा बसिरहनुभएको छ । यद्यपी व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।’ पाण्डेले भने । ‘टेकु अस्पताल पूर्ण तयारीमा छ । आवश्यक बेड तयार पारेका छौँ । कसैलाई शंका लागेमा हामी अनुसन्धान गर्न सक्षम छौँ ।’

कोरोना भाइरस श्वाँसप्रश्वाससँग सम्बन्धित् भाइरस भएकाले एक मिटरको दूरीसम्म एक व्यक्तिले हाँच्छु गर्दा अर्कोलाई सर्न सक्ने उनको भनाइ छ । ‘संक्रमणबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ । चीनमा एक हजारभन्दा बढीमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ । तर पनि धेरै डराउनुपर्ने अवस्था छैन ।’ पाण्डेले बताए ।

रोगसँग लड्ने क्षमता कम भएका वृद्ध, बालबालिका वा अरु विभिन्न रोगबाट ग्रसितलाई छिटो संक्रमण हुन सक्ने पाण्डेको भनाइ छ । रुघा खोकी लाग्यो वा कोरोना भाइरसको आशंका लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निःशुल्क स्वास्थ्य परीक्षण गराउने पनि पाण्डेले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसको बारेमा जानकारी दिँदै चीनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनु नपर्ने बताए । यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिए । कोरोना भाइरस आपैमा रोग नभै एउटा भाइरस मात्रै भएको उनले बताए ।

‘कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो । २००३ मा सार्स, २०१२ मा मर्स देखिएको थियो । २०१९ को अन्तिममा देखिएको हो कोरोना । यसको नाम २०१९ नोबल कोरोना हो ।’ उनले भने । यद्यपि यो भाइरस नयाँ भएकाले धेरै जानकारी भएको बताउँदै उनले तुलनात्मक रुपमा हेर्दा खतरा धेरै नभएको बताए ।

उनले यो भाइरसको लक्षणमा एक सय चारभन्दा बढि फरेन हाइटमा ज्वरो आउने, श्वाँसप्रश्वाँसमा अत्यधिक समास्या आउने, रुघा र खोकी लाग्ने मुख्य रहेका छन् । पुनले नोवल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने भन्नेबारे पनि बच्ने उपायहरु अघि सारेका छन् ।

उनले अघि सारेका उपायमा नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाँच्छु गर्दा नाक र मुख छोप्ने, यदि फ्लुजस्तो लक्षण देखा परेमा चिकित्सिकसँग परामर्श लिने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीबाट टाढा बस्ने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने र पशुजन्य मासु तथा अण्डा राम्रोसँग पाकेको मात्रै खाने रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>