देश/प्रदेश

चीनमा एक हप्तामा हजार शैयाको अस्पताल बन्दै , कोरोना भाइरस विश्वभर फैलिने त्रास

Banner

काठमाडौँ, माघ ११-

यतिखेर चीन कोरोना भाइरसको संक्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । शनिबारसम्म प्राप्त भएको समाचारअनुसार यो संक्रमणको प्रकोप चीनका कम्तीमा १८ शहरमा निकै गम्भीररुपमा देखापरिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसिमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ । यद्यपि चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ ।

सो भाइरसका कारण ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गएपछि शनिबार चीन सरकारले सो आदेश दिएको छ । यस संक्रमणबाट ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । यस भाइरसबाट शनिबारसम्म संक्रमितको संख्या एक हजार २८७ पुगेको छ । त्यसैगरी चीनका केही प्रान्तहरुमा नै फैलिन पुगेको यस भाइरसको संक्रमणको कारण यात्रा प्रतिबन्धलगायत अन्य धेरै किसिमका सतर्कताबाट करिब पाँच करोड ६० लाख नागरिक प्रभावित भएका छन् ।

अमेरिकाको सियाटलसमेतमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएपछि यसको फैलावटको त्रास अझै बढिरहेको छ । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको पुष्टि भएको छ । उता जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीले जनाएका छन् । यसरी यो संक्रमणले दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । चीनको बुहान शहरबाट फर्किएका एक नेपालीमा कोरोनाभाइरस संक्रमण भेट्टिएको छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । तर यसको संक्रमणबाट मृत्यु हुने भने चिनियाँ नागरिक मात्र छन् ।

चिनियाँ अधिकारीले चीनमा उक्त भाइरसको प्रभावस्तर रोक्न र नियन्त्रण गर्न सबैभन्दा संवेदनशील अवस्था रहेको बताएका छन् । चीनले उक्त भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि पनि गरिसकेको छ । जसका कारण यस संक्रमणको त्रास चीनमा मात्र नभएर चीनबाहिरसम्म पनि पुगिसकेको छ ।

वैज्ञानिक भाषामा यसलाई ‘२०१९– एन सीओभी’ भाइरस भनिन्छ । उक्त भाइरस कोरोनाभाइरस वर्गको एक खालको नयाँ प्रजातिका रुपमा विकास भएको वैज्ञानिकले बताएका छन् । उनीहरुका अनुसार यो भाइरस यसअघि पनि मानिसमा फेला परेको थियो । वैज्ञानिकले सन् २००० को दशकको सुरुआतमा नै यो भाइरसको प्रकोप बढेको बताएका छन् । उनीहरुले त्यस समयमा विश्वका विभिन्न देशमा यो भाइरसको संक्रमण बढेको र यसले ती देशमा झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो भनेका छन् ।

यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षण हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यस भाइरसको संक्रमण बढ्दै जान थालेपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल घोषणा गर्ने विषयमा सोच्नुपर्ने बताएको छ । यस्तो अवस्थाको घोषणा गर्ने विषयमा सोच्न विश्व स्वास्थ्य संगठनले भनिसकेकोले हाल चीनमा विशेष स्वास्थ्य विज्ञको समूहले आवश्यक प्रमाण जुटाउने काम गरिरहेको बताएका छन् ।

यस प्राणघातक भाइरसले उत्पन्न गरेको अवस्थासँग जुध्न विश्वव्यापीरुपमा नै जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गर्न सकिने विषयमा आवश्यक तयारी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस भाइरसका संक्रमित चीन र चीनका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् ।

चीनका विभिन्न २५ प्रान्तका क्षेत्रमा यो भाइरसको संक्रमण फैलिएको छ । स्थानीय प्रशासनले जंगली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ भने मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीले जानकारी दिएका छन् ।

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै सबभन्दा बढी व्यक्तिको ज्यान गएको जानकारी दिनुभएको छ । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । अधिकारीले बढी उमेरका मानिसमा यसको संक्रमण अझ बढी देखिएको बताएका छन् । डब्लूएचओको तथ्यांकअनुसार कुल संक्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै संक्रमितका ६४ प्रतिशत पुरुष रहेका छन् ।

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।

गत बिहीबार चिनियाँ नयाँ वर्षको बिदाको अवसर थियो तर त्यस दिन कुनै कार्यक्रमको आयोजना गर्ने र मनाउने काम नगर्न भनियो । नयाँ वर्ष मनाउने कार्यक्रममा मानिसको भीडभाड हुने भएकोले आपसमा यो भाइरसको संक्रमण बढ्नसक्ने भन्दै विदामा कुनै पनि प्रकारका कार्यक्रम सञ्चालन नगर्न भनिएको थियो । यो समयमा लाखौँ चिनियाँ आफ्नो घर फर्कने गर्छन् । उनीहरु घर फर्किने र नयाँ वर्ष मनाउन बाहिर जाने कार्यक्रममा पनि अहिले कडाइ गरिएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चीन सरकारले पछिल्लो समयमा यस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सञ्चालन गरिरहेका कार्यक्रमको स्वागत गरेका छन् । उनले चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा यो सक्रमणको अहिलेको अवस्था चर्किन सक्नेतर्फ सतर्क रहन र त्यसको रोकथामका उपायमा केन्द्रित हुन आग्रह गरेका छन् ।

यसको सबैभन्दा बढी प्रभावित शहर वुहान नै भएकोले यहाँबाट बाहिर जाने सबै नागरिकको स्वास्थ्य अवस्थाको जाँच गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन हुने र रोकिने केन्द्रमा उचित हावा प्रवाहको व्यवस्था गर्ने काम पनि अधिकारीले गरिरहेका छन् ।

वुहानमा जीवित पक्षी र जंगली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले कडा मात्रामा निगरानी गरिरहेको पनि बताइएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सहि जानकारी आइसेकेको छैन् । डब्लूएचओले यो भाइरस सम्भवतःपशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्ने बारे अझै स्पष्ट भइनसकेको जनाइएको छ ।

बुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त शहरको भ्रमण नगर्न पनि सबै नागरिकलाई आह्वान गरेका छन् । बुहान यस संक्रमणको केन्द्रमा रहेकोले त्यहाँ बढी कार्यक्रम लक्ष्य गरिएको छ । झन्डै नब्बे लाख जनसंख्या भएको वुहानका बासिन्दालाई भीडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न पनि भनिएको छ । सरकारले शनिबारसम्म चीनका १८ ओटा शहरकै यात्रामा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

बुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>