चितवन विशेष

नारायणी नदी किनारमा कोटिहोम महायज्ञको तयारी अन्तिममा

Banner

चितवन, माघ ५

आगामी माघ ११ देखि एक महिनासम्म नारायणी नदी किनारमा सञ्चालन हुने कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

महायज्ञस्थलमा नौ तले यज्ञ मण्डपसमेत निर्माण भइसकेको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले बताए । करिब तीन कठ्ठा क्षेत्रफलमा फैलिएको सो मण्डमा एकै साथ तीन हजार बढीले कथा श्रवण गर्न सक्ने महाराजश्रीको भनाइ छ । यज्ञ मण्डप निर्माणसँगै भण्डारा लगाउने स्थलसमेत निर्माणको अन्तिम चरणमा पुगेको महाराजश्री जानकारी दिए । महायज्ञलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि यसअघि नै दुई हजार १०० सदस्यीय मूल आयोजक समिति विस्तार गरि सकिएको छ ।

महायज्ञका लागि १०८ पण्डितसमेत आउने क्रम सुरु भएको महायज्ञका संकल्पकर्ता धर्मपाल गुरु वशिष्ठले जानकारी दिए । उनकाअनुसार १०८ तीर्थस्थलको जल लिन भ्रमणमा गएको टोली समेत जल लिएर फर्किने क्रममा रहेका छन् । नेपालको इतिहासमा नै पहिलो पटक नारायणगढको नारायणी नदी किनारमा १०८ कुण्डीय कोटिहोम गर्न लागिएको हो ।

महायज्ञको प्रचार प्रसारका लागि स्वयंसेवक परिचालनदेखि मोटरसाइकल यालीसमेत गरिएको महायज्ञका मूल समिति महासचिव एवम् प्रवक्ता दिलिप न्यौपानेले बताए । महायज्ञमा दैनिक पाँच हजार बढी श्रद्धालुहरु आउने अपेक्षासहित तयारीको काम अगाडि बढाइएको न्यौपानेले जानकारी दिए । महायज्ञमा आउने श्रद्धालुका लागि खाना तथा नास्ताका साथै दैनिक एक हजार जनालाई बासको समेत व्यवस्था गर्ने गरी काम अगाडि बढाइएको न्यौपानेको भनाइ छ ।

फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा हरेक दिन र रात एक\एक जना प्रमुख अतिथि तथा पाँच\पाँच जना विशिष्ठ अतिथि रहनेछन् । एक महिनासम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् संगीतमय लीलामय–१०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ ।

चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत् धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो ।  नेपाल भ्रमण वर्ष–२०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए । उक्त विराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>