देश/प्रदेश
नेपालको रेल जानकी भारतको चेन्नईबाट हिड्यो, १५ दिनमा जनकपुर आइपुग्ने

काठमाडौं, माघ २-
जनकपुर–जयनगर रूटका लागि निर्मित जानकी रेल सेट नेपालका लागि भारतको चेन्नइबाट हिडेको छ।
भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले एक सेट ट्रेन चेन्नेइस्थित आफ्नो सवारी डिब्बा कारखानाबाट बुधबार जनकपुर पठाएको हो। पेन्टिङको काम पूरा भएसँगै नेपालका लागि रेल सेट पठाएको कम्पनीले जनाएको छ। चेन्नइबाट विभिन्न रुटमार्फत जनकपुरसम्मै रेलवे ट्रयाक जोडिएकाले गुडाएरै ल्याउन लागिएको हो।
चेन्नइबाट विजयवाडा, इटारसी, इलाहावाद र पटना भएर विहारको जयनगर हुँदै रेल जनकपुर आइपुग्नेछ। रेल सेवा सञ्चालन भइरहेका रुटहरूमा ट्रयाक खाली रहने समय पारेर ल्याउनुपर्ने भएकाले नेपाली जनकपुरसम्म आइपुग्न १५ दिन लाग्ने रेल विभागका अधिकारीहरूले बताएका छन्।
नेपाली झण्डाको रंग लगाएको जानकीको इञ्जिन र डिब्बा आइपुग्ने तय भएपछि यता रेल विभागमा रेल सेवा नियमित सञ्चालनको तयारी भइरहेको छ। ट्रेन सेट आइपुगेपछि नियमित सञ्चालनका लागि हामी आवश्यक व्यवस्थापन गरिरहेका छौं,ु विभागका महानिर्देशक बलराम मिश्रले भने, ुट्रेन सेट आइपुगे पनि केही अत्यावश्यक तयारीमा टाइम लाग्ने स्थिति छ। सम्भवतः फ्रेबुअरी दोस्रो सातासम्म लाग्न सक्छ।ु त्यसपछि जनकपुर(जयनगर नेपाली रेल यातायात नियमित सञ्चालन हुने उनले बताए।
विभागका अनुसार अहिले रेल सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रक्रिया फाष्ट ट्रयाक गर्न लागिएको छ। रेलवे कम्पनी ब्युँताएर रेल सेवा सञ्चालन गर्न लागिएको हो। करिब २ सयजना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ। मन्त्रीपरिषद्बाट स्वीकृति लिएर तत्कालका लागि रेल चलाउने केही प्राविधिक भने भारतबाट ल्याइने छ। बाँकी कर्मचारी यहीँ भर्ना गरिने छ। नेपाली प्राविधिकहरू रेल चलाउन सक्षम भएपछि भारतीय प्राविधिकलाई फिर्ता गरिदिने बताइएको छ।
भारतले नेपाललाई आवश्यक कर्मचारी पनि दिने प्रस्ताव तीन महिनाअघि नै पठाएको थियो। आवश्यक सीमित संख्यामा भारतीय कर्मचारी लिने र बाँकी स्थानीयस्तरमा व्यवस्थापन गर्ने नीति विभागको छ। जनकपुर–जयनगर रेलवे ट्रयाकलाई गएको वर्षायामको बाढीले बिभिन्न स्थानमा क्षति पुर्याएको थियो। त्यसको मर्मतको काम अन्तिम पूरा भएको छ। अबको केही दिनमै रेलवे लिक सञ्चालनका लागि तयार हुने विभागका इन्जिनियरहरूको दाबी छ।
जयनगर–जनकपुर करिव ३५ किमि खण्डमा रेल सञ्चालन गर्न लागिएको हो। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा यो खण्डमा रेलवे ट्रयाक बिछ्याइएको हो। जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्म करिव ७० किमि रेलवे ट्रयाक भारतीय सरकारको सहयोगमा निर्माण थालिएको थियो, तर जनकपुरबाट बर्दिवाससम्म भने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन।
जयनगर–जनकपुर खण्डमा पहिले नै न्यारोगेज रेल सञ्चालनमा थियो। ती पुराना संरचनालाई हटाएर ब्रोडगेज रेलको लिक बिछ्याइएको हो। पहिले नै रेल सञ्चालन भइरहेको खण्डमा मुआब्जा लगायतका कुनै समस्या नभएका कारण सरासर लिक तयार पारिएको हो।
यो खण्डमा गत वर्ष नै ट्रयाक बिछ्याएर परीक्षण समेत भइसकेको छ। गत वर्ष नै उद्घाटन गर्ने बताइए पनि नेपालको आफ्नै रेल सेट नरहेका कारण उद्घाटन भएन। सुरूमा रेल सेट र प्राविधिक लिजमा लिएर रेल सञ्चालन गर्ने तयारी थियो । तर आफ्नै रेल किनेर सञ्चालन गर्दा फाइदा हुने भन्दै सरकारले खरिद प्रक्रिया अघि बढाएको हो।
करिब ८५ करोड खर्चेर दुइवटा सेट ट्रेन ल्याउन लागिएको छ। त्यसमध्येको पहिलो सेट ट्रेन डेलिभरीका लागि चेन्नइबाट हिडेको हो। अर्को सेट तयार भइरहेको छ।
रेल यातायात सञ्चालनका लागि ट्रेन सेट सरकारले जीटुजी माध्यमबाट खरिद गरेको हो। जसको जिम्मा भारतीय कम्पनीले पाएर चेन्नइको आफ्नो कारखानामा एसेम्बल गरेको हो।
नेपालका लागि निर्मित सेट डिजेल इलेक्ट्रीफाइड मल्टिपल युनिट ९डेमु० रेल सेट हो। जुन ब्रोडगेजमा छोटो दुरीमा सञ्चालन गर्न उपयुक्त मानिन्छ। एक सेट ट्रेनमा पाँचवटा डिब्बा हुन्छ। अगाडि र पछाडि दुवैतिर इन्जिन जोडिएको हुन्छ। दुवैतिर इन्जिन जोडिएका कारण नघुमाई दुवैतर्फबाट चलाउन सकिन्छ।
पाँच डिब्बामध्ये एउटा डिब्बा ड्राइभिङ पावरकार हुनेछ। अर्को डिब्बा ड्राइभिङ ट्रेलर कार, एक एसी ट्रेलर कोच र अर्को दुइवटा ननएसी ट्रेलर कोच हुनेछ। यसको बडी स्टेनलेस स्टीलबाट बनाइएको छ। एक सेट ट्रेनमा एकपटकमा ६०० जनाले यात्रा गर्न सक्छन्। छोटो दुरी भएकाले उभिएर पनि यात्रा गर्न सकिन्छ। रेलमा उभिनेहरूका लागि ह्याङ्गर समेत राखिएको छ। यो रेल अधिकतम ११० किमि प्रतिघण्टाको गतिमा कुद्न सक्छ। (विजमाण्डु्बाट)
























