गण्डकी

कावासोतीका विद्यार्थीलाई न्यानो कपडा वितरण

Banner

नवलपुर, पुस २०-

मोनिका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आइतबार कावासोतीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कावासोती नगरपालिका–१ बालुवाडाँडामा रहेको जलदेवी प्राथमिक विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
विपन्न, असहाय बालबालिकाको शिक्षा स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठकी स्व. छोरी मोनिकाको स्मृतिमा ट्रस्ट स्थापना गरिएको मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताए ।

सोही अनुसार ट्रस्टको पहिलो कार्यक्रमअन्तर्गत वडा नम्बर १ को पहाडी क्षेत्रमा पर्ने जलदेवी प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने १८ जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको संरक्षक श्रेष्ठले जानकारी दिए । वडा नम्बर १ का वडा अध्यक्ष नारायणप्रसाद पन्त प्रमुख अतिथि रहेको कार्यक्रममा समाजसेवी एवम् स्व. मोनिकाका पिता श्याम श्रेष्ठ, वडा सदस्य माया गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुकबहादुर विरकट्टा, विद्यालयका प्रध्यानाध्यपक सुमित्रा भुसाल, मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका सदस्य आस्था श्रेष्ठ, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष नारायण पन्तले डेड वर्षीय छोरी मोनिकाको स्मृतिमा सञ्चालन गरेको ट्रस्ट मार्फत् विद्यार्थीलाई गरेको सहयोगको प्रशंसा गरे । आगामी दिनमा पनि ट्रस्टले विकटका बालबालिकाको शिक्षा स्वास्थ्यमा सहयोग गरोस् भन्दै आफूले ट्रस्टको लागि सकारात्मक सहयोग गर्ने अध्यक्ष पन्तले बताए ।

हिजोका दिनमा मठमन्दिरलाई नगद दिँदै सहयोग गरेका दिनहरु स्मरण गर्दै ट्रस्टका सदस्य आस्था श्रेष्ठले अब ट्रस्ट मार्फत् बालबालिकाको शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने बताए । त्यस्तै यस विद्यालयलाई अब हरेक वर्ष १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै सदस्य श्रेष्ठले बुवा श्याम श्रेष्ठ र आमा दिलकुमारी श्रेष्ठ(सविना) को आम्दानीको २० प्रतिशत ट्रस्ट मार्फत् बालबालिकालाई सहयोग गर्ने जानकारी दिए ।

चिसो बढेसँगै विद्यार्थीलाई विद्यालय आउन र अध्ययन गर्न समस्या भएको अवस्थामा ट्रस्टले गरेको सहयोगले विद्यार्थीलाई पढाइप्रति केन्द्रित हुन सहयोग पुग्ने विद्यालयले जनाएको छ । आदिवासी, जनजाति समुदायको बस्ती रहेको बालुवा डाँडामा विद्यार्थीलाई विभिन्न संघसस्थाको सहयोगमा पढाउँदै आएको विद्यालयका प्रध्यानाध्यापक सुमित्रा भुसालले बताइन् । अगामी दिनमा पनि ट्रस्ट मार्फत्को सहयोगको अपेक्षा गर्दै न्यानो कपडा वितरणमा विद्यालयलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे । कावासोती बजारबाट ११ किलोमिटर उत्तरमा पर्ने यस विद्यालयमा आदिवासी, जनजाति समुदायका बालबालिका अध्ययन गर्ने गर्छन् । यहाँ आर्थिक अवस्था कमजोर भएका करण कतिपय विद्यार्थी विद्यालय नआउने र बीचैमा छोड्ने जस्ता समस्याहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>