देश/प्रदेश

महाकालीमा बनेका ११ झोलुङ्गे पुल र मोटरेबल पुलले जोड्दै नेपाल–भारतका नागरिक

०
Banner

दार्चुला,कात्तिक २७ –

महाकाली नदीको एक किनारमा नेपाल छ, अर्को किनारमा भारत । नदीले दुई देशको सीमा छुट्याएको छ, तर वारिपारिका मानिसको भाषा, संस्कृति, रहनसहन र पारिवारिक सम्बन्धलाई छुट्याउन सकेको छैन ।

कुनै समय दार्चुलाका सीमावर्ती बासिन्दाका लागि महाकाली नदी वारपार गर्नु सहज थिएन । दैनिक उपभोग्य वस्तु किनमेल गर्न, आफन्त भेट्न, उपचार गराउन तथा सामाजिक काममा सहभागी हुन नदी पार गर्नुपर्ने बाध्यता थियो । त्यसका लागि स्थानीयले तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो ।

समयक्रमसँगै महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण हुन थाले । तुइन विस्थापन कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा पुल बने । अहिले दार्चुलामा नेपाल–भारत जोड्ने महाकाली नदीमाथि ११ वटा झोलुङ्गे पुल सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए । एउटा काठे पुल र एउटा मात्र मोटरेबल पुल रहेको उनले बताए ।

उनले भने, ‘झोलुङ्गे पुल ११ ओटा छन्, एउटा काठे पुल र मोटरेबल पुल छ त्यो चाडैं नै संचालनमा आउने छ ।’

खलङ्गाको पुलघाट, दत्तु, सीतापुल, तिग्रम, जोलजीवी, लाली, बाँकु, बडूगाउँ, मालगाउँ र मलघट्टेमा बनेका पुलले सीमावर्ती नागरिकको आवागमन सहज बनाएका छन् । यी पुल नदी वारपार गर्ने संरचना मात्र नभैइ यिनले सीमावर्ती नागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिएका छन् ।

झोलुङ्गे पुलबाट मोटरेबल पुलसम्म

दार्चुलाको सीमावर्ती आवागमनमा अर्को महत्वपूर्ण पूर्वाधार थपिएको छ । महाकाली नगरपालिका–८ असिगडा र भारतको पिथौरागढ जिल्लाअन्तर्गत धारचुला क्षेत्रको छारछुम जोड्ने ११० मिटर लामो दुई लेनको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

भारतीय सहयोगमा निर्माण भएको यो पुल सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल–भारत जोड्ने पहिलो मोटरेबल पुल हो । पुल निर्माणसँगै दार्चुला, बैतडी र बझाङका नागरिकका लागि भारतसँगको व्यापारिक तथा व्यावसायिक सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ ।

पुलले के परिवर्तन ल्यायो ?

सीमावर्ती क्षेत्रमा पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज भएको छ । दैनिक उपभोग्य वस्तु खरिद गर्न, आफन्त भेट्न तथा सामाजिक सम्बन्ध कायम राख्न नदी पार गर्ने नागरिकलाई राहत पुगेको छ । मोटरेबल पुल सञ्चालनमा आएपछि भने व्यापार, पर्यटन, स्वास्थ्य सेवा र यातायातका क्षेत्रमा थप सम्भावना खुल्न सक्छ ।

विशेषगरी दार्चुलाबाट भारतको पिथौरागढसम्म उपचारका लागि जाने बिरामीलाई सहजता हुने अपेक्षा गरिएको छ । त्यस्तै स्थानीय उत्पादन, जडीबुटी तथा कृषि उपजको व्यापार विस्तारमा समेत पुलले भूमिका खेल्न सक्नेछ ।

महाकाली नदीले दुई देशको सीमा छुट्याइरहे पनि पुलहरूले मानिसबीचको सम्बन्ध जोडिरहेका छन् । दार्चुलाको विकास यात्रामा यी पुल केवल भौतिक संरचना होइनन्, सीमावर्ती नागरिकको सहज जीवन र सम्भावित समृद्धिका आधारसमेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>