क्रिकेट
एमएम कपः प्रदेश १ लाई हराउँदै प्रदेश ३ सेमीफाइनलमा प्रवेश

सुनसरी, पुस १९-
प्रदेश नं.३ को टिम सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्टिय एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप)को सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा ७ विकेटको जित निकाल्दै प्रदेश ३ सेमीफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
वर्षाले प्रभावित बनाएको खेल २८ ओभरमा झारिएको थियो । प्रदेश १ ले २८ ओभरमा अलआउट हुँदै १४४ रन जोडेको थियो । प्रदेश १ का लागि कप्तान पुष्प थापाले ५० रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै मिनस थापाले २०, फिर्दोस अन्सारीले १८ र राज थापाले १० रन जोडेका थिए ।
प्रदेश ३ का लागि नन्दन यादवले ४, रामनरेश गिरीले २, प्रतिश जिसी, इशान पाण्डे र जितेन्द्र ठकुरीले समान एक विकेट लिएका थिए ।
१४५ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ३ विकेटको क्षतिमा १४७ रन बनाउँदै जित हासिल गर्यो । प्रदेश ३ का लागि कप्तान सुवास खकुरेलले ८५ रनको अविजित पारी खेले । उनले ५ छक्का र ७ चौका प्रहार गरे । यस्तै रित गौतम र जितेन्द्र ठकुरीले समान १७ रन बनाए भने आदिल खान ११ र इशान पाण्डेले ५ रन मात्र बनाए ।
यस्तै प्रदेश १ का लागि सुभांकर उराउले २ र दीपेश कँडेलले एक विकेट लिए ।
प्रदेश ३ को टोली ३ अंकका साथ समूह सी को विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको हो । यस समूहबाट प्रदेश १ र ५ प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा प्रदेश १ ले एकमा जित र एकमा हार व्यहोर्यो भने प्रदेश ५ एकमा हार र एकमा बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरियो । हिजो भएको प्रदेश ५ र प्रदेश ३ को खेल वर्षाले खेल प्रभावित बनाएपछि दुवै टिमले अंक बाडेका थिए ।
आजको जितपछि प्रदेश ३ का सहायक प्रशिक्षक अनिल अधिकारीले कप्तानसहितका खेलाडीले राम्रो प्रदर्शन गरेकाले जित हासिल गरेको प्रतिक्रिया दिए । उनले सेमीफाइनलमा खेलाडीले थप हौसलाका साथ खेल्ने बताए ।



























