नवलपुर

मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन हुने,सम्भाव्यता अध्ययन सकियो

Banner

चितवन,पुस १५-

नवलपुरको धार्मिक पर्यटकीय स्थल गैँडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ । मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । मौलाकालिकामा केबुलकार सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएर मन्त्रालयमा फाइल पुगेको पौडेलले बताउनुभयो । केबुलकार सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।

मौलाकालिका केबुलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले धार्मिक पर्यटकलाई लक्षित गर्दै केबुलकार सञ्चालन गर्न लागिएको बताउनुभयो । “यो केबुलकार सञ्चालनका लागि स्थानीयसँग साझेदारी गरेर अगाडि बढ्ने तयारी गरेका छौँ” उहाँले भन्नुभयो, “स्थानीयलाई शेयर कति दिने भन्नेबारे छलफल भइरहेको भए पनि बढी शेयर हामीले राख्नेछौँ ।” केबुलकार सञ्चालनको दूरी १२ सय मिटरको हुने भन्दै ढकालले त्यहाँ ६ वटा टावर राखिने जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरु मन्दिरमा दर्शन गर्न जाँदा कठिनाइ भोग्नुपरेको कारण उनीहरुको सहजताका लागि केबुलकार सञ्चालन गर्न लागेको ढकाल बताउनुहुन्छ । केबुलकार क्षेत्रमा चन्द्रगिरी हिल्स प्रालिपछिको दोस्रो आयोजनाको रुपमा मौलाकालिकामा केबुलकार सञ्चालन गर्न लागेको ढकालले बताउनुभयो । उहाँले मौलाकालिका केबुलकारको काम शुरु भएपछि चाँडै नै बुटवल र पाल्पामा समेत केबुलकार निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

गैँडाकोटबाट केबुलकार सञ्चालनमा आएपछि चितवन र देवघाटबाट समेत केबुलकारमार्फत मौलाकालिका मन्दिरमा जोड्नका लागि अध्ययन शुरु गरिने ढकालले बताउनुभयो । गैँडाकोटका जनप्रतिनिधि, धार्मिक सेवा समिति मौलाकालिका र सामुदायिक वनको आग्रहमा आफूले केबुलकार सञ्चालनको काम अगाडि बढाएको बताउनुभयो । केबुलकार सञ्चालनको लागि पहिलो स्टेशन रहेने स्थान गणेश मन्दिर नजिकै ११ कठ्ठा जमिन कम्पनीले किनेको उल्लेख गर्दै ढकालले माथिल्लो स्टेशन मन्दिर नजिकै रहेको हेलिप्याडमा राखिने जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिका भित्रकै ठूलो परियोजनास्वरुप मौलाकालिका मन्दिरमा केबुल सञ्चालनमा आउन लागेको हो । निर्माण शुरु भएको एक वर्षमा नै केबुलकार सञ्चालनमा ल्याउने गरी काम शुरु गरिने ढकालले बताउनुभयो । धार्मिक क्षेत्रलाई लक्षित गर्दै केबुलकार सञ्चालनमा आइरहेकाले नेपालमा धार्मिक पर्यटक भित्र्याउनका लागि केबुलकार महत्वपूर्ण हुने ढकालले बताउनुभयो ।

केबुलकार सञ्चालनमा आएपश्चात गैँडाकोट क्षेत्रमा समेत आन्तरिक र बाह्य धार्मिक पर्यटकको वृद्धि हुने नगर प्रमुख पौडेलले बताउनुभयो । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै सरकारले घोषणा गरेको एक सय गन्तव्यमा गैँडाकोटको मौलाकालिका मन्दिरसमेत परेको छ । यहाँ वर्षेनी पाँच लाखको हाराहारीमा धार्मिक पर्यटक आउने गरेको धार्मिक सेवा समिति मौलाकालिकाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>