चितवन विशेष

भ्रमण बर्षमा चितवनको माडीमा पचास हजार पर्यटक भित्र्याइने

Banner

प्रिती पोख्रेल,

माडी पुस १५

माडी नगरपालिकाले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्षमा ५० हजार भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । ईको नगरपालिका माडी ऐतिहासिक, धार्मिक, पर्यटकीय र राजनीतिक महत्वको क्षेत्र रहेकाले धेरै पर्यटक भित्र्याउन सफल रहने माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए ।

‘पर्यटन वर्ष सुरुआतको शुभारम्भमा आन्तरिक तथा वाह्य पर्यटक जो माडी नगर प्रवेश गर्नेछन्, उनीहरुको माडी नगरपालिकाले वसन्तपुरमा भव्य स्वागत गर्नेछ’ उनले भने । सो दिन माडीलाई गन्तव्य चुनेर घुम्न आएकाहरुलाई सकारात्मक सन्देश प्रवाह गर्न फूल र अबिरले आतित्थ्यता प्रदान गरिने उनले बताए । पौष १६ गते जनवरी १ का दिन दीप प्रज्वलनसहितको कार्यक्रमहरु गरी भ्रमण वर्षलाई स्वागत गरिने कँडेलकोे भनाइ छ ।

जनवरी १ का दिन माडी प्रवेश गर्ने पर्यटकहरुलाई नगरपालिकाले भव्य स्वागत गर्ने भएको हो । नगरपालिकाको आयोजनामा बाजागाजा र सांस्कृतिक झाँकीसहितका कार्यक्रम वसन्तपुर बजारमा हुने छ । यता, भ्रमण वर्ष सफल पार्न नगरपालिकाले वर्षभरी गर्ने महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेको छ ।

कृषि र पर्यटन माडी विकासको प्रमुख आधार भएकाले नगरका अधिकांश योजनाहरु यसै सम्वद्ध रहेका छन् । योजनाहरुमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा भ्रमण वर्ष २०२० को उद्घोष कार्यक्रममा माडीको मुख्य पहिचान सोमेश्वरगढीमा दीर्घ रुपमा रहने गरी नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धनका लागि नगरपालिकाको हरेक कार्यपालिका बैठक माडीका पर्यटकीय गन्तव्य स्थलहरुमा सञ्चालन गरिने माडी नगरपालिका सूचना अधिकारी प्रविण भण्डारीले बताए ।

‘माडीको सम्भावनाको व्यापक प्रचारप्रसारका लागि माडीको पहिचान झल्कने वृत्तचित्र पनि सार्वजनिक गर्नेछौँ’ उनले भने । भ्रमण वर्षलाई मध्यनजर गर्दै आदीवासीजनजाती सांस्कृतिक महोत्सव अन्र्तगत माडीमा तत्काललाई खिचरा महोत्सव आयोजना गरिएको माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताए । नगरपालिकाले भ्रमण वर्ष सफल पार्ने योजनाका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘वर्षभरी काम गर्न यति अपुग हुनेछ, तसर्थ प्रदेश सरकार समक्ष बजेट माग गरेका छौँ प्रमुख ढकालले भने ।’ मुख्यगरि घुम्नका लागि आउने पर्यटकहरुलाई माडीमा भित्र्याउन सिमरा सौराहा पैदल यात्रा मार्ग सञ्चालन योजना माडी नगरपालिकाको योजनामा समावेश छ ।

यस्तै योजनाहरुमा बसन्तपुर कसरा पैदल यात्रा कार्यक्रम, अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, बृहत सोमेश्वर मेला,बिक्रमबाबा आउने पर्यटकलाई तमोर ताल हुँदै माडी प्रवेश गराइने, माडीका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रमा धार्मिक तथा धार्मिक गुरुसँग अन्तर सम्वाद, घरबास व्यवस्थापन, सामुहिक खेतीमा रोपाई जात्रा, सोमेश्वर नवाहा तथा चित्रकला तथा मूर्तिकला प्रर्दशनी कार्यक्रम, कवितामा माडी साहित्यिक कार्यक्रम, बैकुण्ठ तथा गोद्दक मेला लगायतका कार्यक्रमहरु रहेका छन् ।

एकादशी मेला, माडीमा साइबेरियाका चरा आउने हुँदा चरा संरक्षण र साइनो कार्यक्रम सञ्चालन गरिने, आन्तरिक पर्यटनको समेत प्रबद्र्धनको लागि चितवनका सातै स्थानीय तहका जनप्रतिनिधिबीच मैत्रीपुर्ण खेलहरु समेत आयोजना गरिने नगरपालिकाको वार्षिक योजना रहेको छ । यसै भ्रमण वर्ष अन्तर्गत उद्योग वाणिज्य संघ माडीसँगको सहकार्यमा माडी महोत्सव आयोजना गरिने कार्यतालिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>