चितवन विशेष

ह्याचरी उद्योग सङ्घको दादागिरीः छापामार शैलीमा चल्ला नष्ट

Banner

भरतपुर,मंसिर ३०-

नेपाल ह्याचरी उद्योग सङ्घले आफ्नो निर्णय अवज्ञा गरेको भन्दै उद्योग भित्र पसेर छापामार शैलीमा चल्ला नष्ट गरेको छ । आइतबारदेखि १० दिन देशभर चल्ला उत्पादन बन्द गर्ने निर्णय गरेको सङ्घले मान्छे परिचालन गरेर चल्ला नष्ट गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर १६ फूर्तीचोकमा रहेको बुढा निलकण्ठ ब्रिडर्स फार्म प्रालिमा उत्पादन भएको चल्ला शनिबार नष्ट गरिएको छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका पदाधिकारीहरुनै फार्ममा गएर चल्ला नष्ट गरिदिएको सञ्चालक देवेन्द्र श्रेष्ठले बताए । आफूहरुको आन्दोलनको अवज्ञा गरेर चल्ला उत्पादन गरेको भन्दै उनिहरुले धमाधम चल्ला नष्ट गरिएको बताए । श्रेष्ठकाअनुसार सङ्घका मान्छेले चार हजार दुई सय कुखुराका चल्ला नष्ट गरिदिएका छन् ।

आइतबार बिहान उत्पादन भएको कोइरल चल्लाको बजार मूल्य दुई लाख १० हजार रुपैयाँ रहेको श्रेष्ठले बताए । चल्ला नष्ट गर्न संलग्न रहेको अभियोगमा प्रहरीले नेपाल ह्याचरी उद्योग सङ्घका तीन जना पदाधिकारीलाई पक्राउ गरेको थियो । तर उनीहरुलाई सहमतिका आधारमा आइतबारनै छाडेको जनाएको छ ।

‘पोल्ट्री क्षेत्रका आफ्नै भाइहरु पर्छन् भनेर मैले लिखित उजुरी दिइनँ’ श्रेष्ठले भने, ‘तर चल्ला नष्ट गर्ने कार्य गलत थियो ।’ उनले बोइलर र कोइलरका चल्लालाई एउटै क्याटोगोरीमा राख्न नहुने बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले प्रहरी कार्यालयमा भएको सहमतिपछि पक्राउ गरिएकाहरुलाई छाडिएको बताए । उनले भने, ‘उहाँहरुबीच आपसी समझदारी भएपछि हामीले छाडेको हो ।’ कोइरालाले लिखित उजुरी नआएका कारण उनीहरुलाई थप कारबाही गर्न नसकिएको बताए ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टिकाराम पोखरेलले भने चल्ला नष्ट गर्ने कार्यमा आफ्नो सङ्घको कुनै संलग्नता नहरको दावी गरे । उनले व्यवसायी आफैले चल्ला नष्ट गरेको बताए । ‘हामीले अनुगमन गर्ने काम गरेका छौँ, नष्ट गर्ने काम हाम्रो होइन’ उनले भने, ‘व्यवसायी साथीहरुले आफै स्वतस्फूर्त रुपमा चल्ला नष्ट गरिरहनुभएको छ ।’ उनले देशभरका उद्योगबाट चल्ला नष्ट गरेको फोटो र भिडियो आफूहरुलाई प्राप्त भएको जिकिर गरे ।

उत्पादन लागतअनुसारको मूल्य नपाउँदा पोल्ट्री व्यवसायमा ठूलो नोक्सान बेहोर्नुपरेको भन्दै सङ्घले १० दिन चल्ला उत्पादन र बिक्री वितरण नगर्ने घोषणा गरेको हो । १० दिन चल्ला बिक्री बन्द हुनेबित्तिकै कुखुरा उत्पादन कम हुनेछ । ब्रोइलर र लेयर्स गरी देशभर हप्तामा ४५ लाख चल्ला उत्पादन हुन्छ ।

पोल्ट्री क्षेत्रमा भएको ८० अर्ब रुपैयाँ हाराहारीको लगानीमध्ये करिब आधा लगानी चितवनमा भएको छ । आत्मनिर्भर मानिएको पोल्ट्री क्षेत्र तहसनहस हुने बित्तिकै समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने सम्भावना देखिन्छ ।

पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क रहेको छ । देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिए पनि औषधि र कच्चापदार्थको लागि भारतको भर पर्नुपर्ने अवस्था विद्यमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>