देश/प्रदेश

रसुवामा भालुको आक्रमणमा आठ घाइते

Banner

रसुवा, मंसिर २९-

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म भालुको आक्रमणमा परी घाइते भएका स्थानीयवासीको नाम सार्वजनिक भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार भालुको आक्रमणबाट घाइते हुनेमा हालसम्म दुई सुरक्षाकर्मीसहित आठ पुगेका छन् ।

यसरी घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका सहायक प्रहरी हवल्दार वीरबहादुर थिङ एवं प्रहरी जवान किरण तामाङ रहेका र सर्वसाधारणतर्फ नुवाकोटका प्रकाश तामाङ रहेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अन्य घाइतेमा रसुवा नौकुण्ड गाउँपालिका निवासी मेम्मर लोप्चन, आमाछोदिङ्मो गापाका मीन तामाङ, गोसाइँकुण्ड गापा वडा नं ५ का दुप्ले लामा, वडा नं ६ का मोदनाथ घिमिरे र वडा नं ५ का आङबाबु तामाङ रहेका बताइएको छ ।

सरकारी अस्पतालको सिफारीसमा भालुको आक्रमणमा परेका व्यक्तिलाई नियमानुसारको उपचार खर्चसमेत प्रदान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए। उत्तरी रसुवामा भालुको आक्रमणले आतङ्क मच्चाउँदै गएपछि प्रहरी गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चौध हजार पर्यटक रसुवामा

गत साउन महिनादेखि मङ्सिरसम्म पर्यटकको आगमन सङ्ख्यासमेत लाङ्टाङ राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको यस अवधिमा १४ हजार २४४ आन्तरिक एवं बाह्य पर्यटकले लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको भ्रमण गरेका थिए ।

यसरी हिमाली भेगको भ्रमण गर्ने पर्यटकमा आन्तरिकरुपका आठ हजार ३८७ र बाह्य देशका पाँच हजार ८५७ रहेका वन प्राविधिक बस्नेतले बताए । आन्तरिक एवम् बाह्य पर्यटकद्वारा निकुञ्ज प्रवेश गरेबापत दुई करोड १५ लाख २४ हजार ६१७ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>