देश/प्रदेश
मे २१ अन्तर्राष्ट्रिय चिया दिवस घोषित

भारत मंसिर २९-
एजेन्सी
भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो ।
अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, तान्जानिया र अन्य केही देश सामेल छन् । यसअघि भारतको पहलमा २१ जुनका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिउको थियो ।
संयुक्त राष्ट्रसंघ महासभाले आफ्नो अधिसूचनामा भनेको छ, ‘हामी ग्रामीण अर्थव्यवस्थामा चियाको योगदानलाई लिएर मानिसहरुलाई जागरुग गर्न चाहन्छौँ ताकि सन् २०३० को सतत विकाससँग जोडिएका लक्ष्य पूरा गर्न सकियोस् ।’
संयुक्त राष्ट्रसंघले सबै सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनसँग २१ मेमा चिया दिवस मनाउन अपिल गरेको छ ।
























