चितवन विशेष
देवघाटका १४ कुटीको पुनःनिर्माण गरी हस्तान्तरण

देवघाट,मंसिर २९-
विनाशकारी भूकम्पले भत्किएका देवघाटका १४ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १४ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको शनिबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गरेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनमार्फत २०७६ भदौ १५ गते सम्झौता भएर कुटी निर्माण शुरु गरिएको थियो । करीब रु एक करोड २८ लाखको लागतमा कुटी निर्माण गरिएको आर्थिक समिति संयोजक भोजराज पौडेलले जानकारी दिए ।
भवन निर्माणका लागि एकाइले प्रतिभवन रु सात लाख १४ हजार अनुदान दिएको थियो । गलेश्वर आश्रमले उपभोक्ता समिति बनाएर सो भवनको निर्माण सम्पन्न गरिएको पौडेलले बताए । सम्झौताअनुसार १४ भवन मङ्सिर १५ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो ।
मङ्सिरको ४ गते नै भवन निर्माण सम्पन्न भएपनि हस्तान्तरणका लागि केही दिन ढिला भएको उनले बताए । कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीले देवघाट क्षेत्रमा २५४ कुटी रहेकाले सबैलाई एउटै प्रकारको बनाएर देवघाटको विशेषता झल्काउनुपर्नेमा जोड दिए । धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रुपमा देवघाट रहेकाले यहाँ आउने हरेक नागरिकले देवघाटका बारेमा खुलेर प्रसंशा गर्नसक्ने गरी उनीहरुको मन लोभ्याउने खालका काम गर्नुपर्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।
देवघाटलाई वृद्धग्राम निर्माणका लागि गुरुयोजनाअनुसार काम भइरहेकाले सरकारले समेत सहयोग गर्नुपर्ने पौडेलको भनाइ थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु एक करोड र गलेश्वर आश्रमबाट रु २८ लाखको लागतमा कुटी निर्माण गरिएका हुन् ।
























