गण्डकी

बागलुङको ढोरपाटन-म्याग्दी सडक कालोपत्र शुरु

Banner

बागलुङ,मंसिर २७-

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकादेखि म्याग्दी जोड्ने सडकखण्डको १० किलोमिटर सडक कालोपत्र गर्न शुरु गरिएको छ । नगरपालिकाको वडा नं ६ को दोगादी–गादीखोला–चामिद्वार–छ्यान्तुङ हुँदै म्याग्दी जोड्ने सडकको दोगादीदेखि तल्लो भाल्नेसम्मको सडकखण्ड कालोपत्र गर्न शुरु गरिएको छ ।

स्व सांसद टेकबहादुर घर्तीले भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको रु २५ करोड २६ लाख ८० हजार १८२ बजेटमा सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न पहल लिनुभएको थियो । कालोपत्रको जिम्मा ठेक्का प्रक्रियामार्फत, श्रेष्ठ, गल्भा, क्याराभन जेभी, गोपीकृष्ण नगर–७ काठमाडौँले लिएको छ । कालोपत्रको काम दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माण कम्पनीका सहायक इञ्जिनीयर रवीन्द्रबहादुर सिजापतीले जानकारी दिनुभयो । निर्माणमा कुनै अवरोध नभए तोकिएको समयभन्दा छिट्टै काम सक्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।

बागलुङको ढोरपाटनलाई म्याग्दीसँग जोड्ने उक्त सडक हालसम्म ढोरपाटन नगरपालिका वडा नं ६ गादीखोलादेखि माथिल्लो भाल्ने भन्ने स्थानसम्म साढे १२ किलोमिटर मात्रै निर्माण गरिएको र बाँकी निर्माणको क्रममा रहेको वडाध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । वडाध्यक्ष पुनका अनुसार, करीब नौ वर्षअघिदेखि सो सडक निर्माण थालिएको थियो । गाउँपरिषद्, जिल्ला विकास समिति, क्षेत्रीय सडक डिभिजन, सांसद विकास कोष र स्थानीयवासीको समेत लगानीमा रु एक करोड ९० लाखभन्दा बढी रकम सो सडक निर्माणमा खर्च भइसकेको छ । सडकको ट्र्याक खुले पनि वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुका साथै विभिन्न घाटमा पक्की पुल नहुँदा आवतजावतमा निकै समस्या खेप्दै आएका स्थानीय बासिन्दा सडक कालोपत्र हुने भएपछि राहत हुने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

सडक खण्डको दोगादीघाट, गादीखोलाघाटमा पक्की पुल निर्माणको तयारी समेत भइरहेको नगरप्रमुख नेपालीले बताउनुभयो । पक्की पुल निर्माणका लागि डिपिआर पनि भइसकेको छ । नगरप्रमुख नेपालीले छिटोभन्दा छिटो बोलपत्र गरी निर्माणकार्य सञ्चालनका लागि प्रदेश सरकारसँग पहल गरिरहेको बताउनुभयो । सडक कालोपत्र भएपछि वडा नं ६ को दोगादी, मोराङ, गादीखोला, खानी, चामिद्वारलगायतका स्थानका स्थानीय प्रत्यक्ष लाभान्वित हुने नेपालीले बताउनुभयो । सडक कालोपत्रका लागि स्व सांसद घर्तीको विशेष पहल रहेको भन्दै नगरप्रमुख नेपालीले सांसद घर्तीको सपनालाई साकार पार्नका लागि सबैको भरपुर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । स्व सांसद घर्तीको सम्झनामा उक्त सडकखण्डअन्तर्गत कुनै स्थानमा शालिकसमेत निर्माण गरिने उहाँको भनाइ छ ।

सो सडकखण्डको स्तरोन्नतिका लागि यसै आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशबाट थप रु एक करोड ५० लाख बजेट विनियोजन भएको वडाध्यक्ष पुनको भनाइ छ । उक्त बजेटले माथिल्लो भाल्नेदेखि करीब पाँच किलोमिटरमाथिसम्म ट्रयाक खोल्ने गरी काम अघि बढाइने पुनले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>