देश/प्रदेश
पोखरामा प्रचण्डको विरोधमा उत्रे वृद्धवृद्धा

काठमाडौं, मंसिर १२-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बुधवार (हिजो) पोखरामा दिएको भाषणमा वृद्धवृद्धालाई अपमान गरेको भन्दै विरोध भएको छ । हातमा प्ले कार्ड बोकेर आधा घन्टा सडकमै मौन बसेर वृद्धवृद्धाले विरोध गरेका हुन ।
बुधबार चुनावी सभामा प्रचण्डले आक्रमक भाषण गर्दै अन्तिममा कांग्रेस उम्मेदवारको उमेरबारे प्रश्न उठाएका थिए।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। पौडेलको उमेर ७५ वर्ष हो।प्रचण्डले देवघाटतिर ध्यान र ज्ञानमा जानुपर्ने मान्छेलाई कांग्रेसले उम्मेदवारमा अघि सारेको भन्दै आलोचना गरेका थिए।
प्रचण्डले भनेका थिए’ हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई। जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ तरु’ भन्ने प्रश्न गरे, ‘यो कहीँ कतैबाट मिल्ने कुरा होइन।’
गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारका लागि गएका बेला कांग्रेस सांसद गगन थापाले संसदमा बिरामी प्रधानमन्त्रीलाई नेकपाले आराम दिनुपर्ने बताएको सन्दर्भमा गगनको नाम नलिई प्रचण्डले जवाफ दिएका थिए।
युवा नेता खोज्नेहरूका लागि जवाफ दिन प्रचण्डले वृद्धवृद्धालाई ‘अपमान’ गरेको भन्दै बिहीबार प्लेकार्डसहित वृद्धवृद्धा सडकमा आएका हुन्।
उनीहरूले ‘वृद्धवृद्धालाई अपमान किन , तपाईं पनि एक दिन वृद्ध हुनुहुनेछ, वृद्ध विरोधी प्रचण्ड मुर्दावाद, सक्छौ भने वृद्धलाई सम्मान गर, सक्दैनौं वृद्धलाई अपमान नगर’ जस्ता नारा प्ले कार्डमा लेखेर उनीहरू विरोधमा उत्रिएका थिए।


























