देश/प्रदेश
टिपरमा लुकाइ ल्याएको काठ धादिङ प्रहरीको नियन्त्रणमा

चितवन, मंसिर ११-
धादिङ प्रहरीले टिपरमा लुकाइ ल्याएको अवैद्य सालको काठ मंगलबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले आज जारी गरेको विज्ञप्तिअनुसार मंगलबार साँझको समयमा धादिङ निलकण्ठ नगरपालिका–८ सल्यानटारबाट काठमाडौँ जाँदै गरेको बा ५ ख १८४९ नम्बरको टिपरलाई अवैद्य काठसहित नियन्त्रणमा लिएको हो । प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बालुवा भित्र लुकाइ राखेको अवस्थामा तयारी ढोकाको चौकस सात थान‚ ठूलो झ्यालको चौकस पाँच थान र सानो झ्यालको चौकस दुई थान गरी अन्दाजी ३६ क्यूफिट अवैध काठ बरामद गरेको छ ।
त्यसैगरी, प्रहरीले टिपर चालक धादिङ नीलकण्ठ नगरपालिका–८ बस्ने वर्ष ३५ को नारायण विक र सोही टिपरमा सवार काठधनी धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० बस्ने वर्ष ४३ को हीरालाल तिमल्सिनालाई पनि नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले पक्राउ परेका टिपरसहित चालक र काठ धनीलाई अनुसन्धान तथा आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय धादिङबेसी पठाएको जनाएको छ ।
























