चितवन विशेष

माडीको सोमेश्वरगढीमा यस्तो बन्यो पर्यटक लोभ्याउने प्रस्तर मूर्ति

Banner

चितवन, मंसिर ११–

नेपालको ४५ नम्बरको सीमा स्तम्भ । ८ मिटरको दुरीमा १७ फिट लम्बाई र ९ फिट चौडाईको ढुङ्गा । ढुङ्गामा चन्द्र, सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा, सगरमाथा सहित मुठी पारेको हातको आकारमा स्पष्ट देखिन्छ । दशगजा नजिकै यस्तो मूर्ति देख्दा राष्ट्रप्रतिको भाव निकै झल्किन्छ ।

सो मूर्ति माडीका दिनेश्वर महतोले बनाएका हुन् । नेपालको झण्डासँग मुठी कसेको नेपालको राष्ट्रियतालाई संरक्षण गर्नको लागि नेपाल—भारतको सीमा नजिक मूर्ति बनाएको महतोले बताए । उनले १८ दिन लगाएर सो मूर्ति कुँदेका हुन् । देशका विभिन्न स्थानमा नेपालको सीमा मिचिरहेको बेला दशगजा नजिक नेपालको झण्डाको निर्माणले राष्ट्रको महत्व झल्कने उनले बताए ।

पर्यटकीय गनतव्यको रुपमा रहेको माडीको सोमेश्वरगढी यतिबेला आर्कषक मूर्तिले सजिएको छ । सोमेश्वर क्षेत्रमा पुग्दा जो कोहिको पनि ढुङ्गामा कुँदिएका मूर्तिले मन लोभ्याउने गर्दछ । गढी घुम्न जाने पर्यटकलाई आकर्षण गर्ने गरी पैदल मार्गमा रहेका ढुङ्गाहरुमा गढीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व दर्साउने खालका मूर्ति बनाइएको होे । गढीको फेदीदेखि नेपाल भारत सीमामै रहेको मन्दिर परिसरसम्म १५ सय मिटर दूरीमा ५० भन्दा बढी मूर्ति देख्न सकिन्छ ।

यी मूर्तिहरुका कारण पनि नेपालको भूमि संरक्षण गर्न सहज हुने माडी नगरपालिका ५ का वडा अध्यक्ष रामबन्दु पोखरेलले बताए । ‘माडीको समृद्धिका लागि प्रमुख सम्भावना मानेर कृषि र पर्यटनलाई आधार मानेर अगाडि बढाइएको छ । पर्यटनलाई आधार मानेर हामीले सोमेश्वर गढीमा मूर्ति निर्माण गरेका हौँ’ उनले भने, –‘हामीले बनाएका संरचनाले नेपालको भूमि संरक्षण गर्न सहज हुन्छ ।’

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि एक सय गन्तव्यमा परेको गढीमा १८ दिन लगाएर ५० भन्दा बढी मूर्तिहरु निर्माण गरिएको हो । माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरेर त्यस क्षेत्रमा रहेका ढुङ्गामा ३३ जना मूर्तिकारहरुले मूर्ति कुँदेका थिए । माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ति विभागको संयुक्त प्रयासमा गढी क्षेत्रमा रहेका ढुङ्गामा मूर्ति कुँदिएको हो ।

सोमेश्वर गढी क्षेत्र प्राकृतिक सौन्दर्यता र पाटेबाघको करिरोड समेत रहेको छ । त्यसैलाई मध्यनजर गर्दै त्यहाँ धर्म र संस्कृति झल्कने मूर्तिहरु निर्माण गरिएको छ । गढीमा धार्मिक पर्यटकहरु जाने गरेको भए पनि अन्य पर्यटकलाई समेत आकर्षण तथा गढीको संरक्षणका निमित्त मूर्ति कोरिएको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

माडी नगरपालिकाले सोमेश्वर गढीको विकासका लागि एक अर्ब नौ करोड रुपैयाँ खर्च हुनेगरि डीपीआर समेत भइरहेको छ । नगरपालिकाको सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिले बनाएको उक्त मूर्तिहरुले गढी भोलिका पुस्तामा अनुसन्धानको स्थान बन्ने विभागका प्रमुख लालकाजी लामाले बताए ।

एकै स्थानमा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व दर्साउने खालका मूर्तिहरु कोरिएकोले पनि भोलिका दिनमा अनुसन्धानको थलो बन्ने मूर्तिकारहरको भनाई छ । गढी जाने बाटोमा रहेका ढुंगामा फलफूल, प्रेम, सुशासन, आदिवासी पहिचान, विज्ञान प्रविधि, वन्यजन्तु संरक्षणलगायत देवीदेवताको मूर्ति कुदिएका छन् । नेपालतर्फ बनेका संरचनाले भारतले सीमा मिच्न नसक्ने मेयरको दावी छ ।

सोमेश्वर मन्दिर भन्दा ८ सय मिटर तलसम्म मोटरे बाटो समेत पुगेको छ । जसले गर्दा सोमेश्वरगढी जाने पर्यटकहरुलाई पनि सहज भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>