देश/प्रदेश
सरकारले मेडिकल कलेज संचालकहरुलाई कारवाही गर्ने

काठमाडौं, मंसिर ९–
सरकारले अवैध रुपमा शुल्क लिएर रकम फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई कारबाही थाल्ने भएको छ।
आज (सोमबार) गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजहरूलाई मंसिर ११ गतेदेखि कारबाही थाल्ने निर्णय गरेको हो। सरकारले तोकेको भन्दा बढी शुल्क लिएर ठगी गरेको भन्दै डाक्टरी पढ्ने विद्यार्थीहरूले विभिन्न मेडिकल कलेजमा आन्दोलन गरीरहेका छन्। सरकारले कारबाही चलाउँदा पनि उनीहरूलाई ठगीमै चलाउने तयारी गरेको छ।
विद्यार्थीबाट गैरकानुनी रूपमा उठाइएको शुल्क फिर्ता गर्न यसअघि शिक्षा मन्त्रालयले पन्ध्र दिनको समय दिएको थियो।
१४ दिनसम्म पनि मेडिकल कलेजले शुल्क फिर्ता नगरेपछि गृहमा सोमबार बैठक बसेको हो। बैठकमा मन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत थिए।
























