देश/प्रदेश
कानून पढेर न्यायका पक्षमा लाग्दै मुक्त कम्लहरी

रीता लामा
घोराही, मङ्सिर ८-
कुनै समय घोराही बजारको एक घरमा भाडा माझ्ने काम गर्ने पूर्वकम्लहरी विष्णु चौधरीलाई शिक्षा सङ्कायमा स्नाकोत्तर गरेर मात्रै चित्त बुझेन । चौधरीले हाल कानून विषयमा स्नातक अध्ययन गरिरहेककी छिन।
लमही नगरपालिका सतवरिया निवासी चौधरीका दिदीबहिनी पनि अरूकै घरमा भाडा माझ्ने र गोठालो जाने काम गर्थे । “पढाइ दिन्छु भनेर साहुले घरको काम गराउन लगे तर काम मात्रै लगाएँ”, उनले भनिन, “मेरो पढाइ छुटिसकेको थियो । विसं २०६१ मा १४ वर्ष हँुदा राप्ती मावि उचानिम्वुमा कक्षा ५ मा भर्ना भएँ । त्यसपछि मेरो शिक्षाको यात्राले निरन्तरता पाएको छ ।” पढाइसहित चौधरी कम्लहरी विकास मञ्चको केन्द्रीय सदस्य भई सामाजिक काममा पनि लागेकी छिन ।
धनगढी उपमहानगपालिका कैलालीकी समिता चौधरी अहिले २५ वर्षकी भइन । नौ वर्षको उमेरदेखि उनको कम्लहरी यात्रा शुरु भयो । बच्चा हेर्ने, भाडा माझ्ने, घाँस काट्ने जस्ता काम गर्नुभयो । लगातार पाँच वर्ष अर्काको घरमा भाडा माझिन । पछि सङ्घसस्थाको सहयोगमा उनी पनि घर फर्किएर शिक्षाको यात्रा शुरु गरिन । चौध वर्षको उमेरदेखि विद्यालय जान थालेकी समिताले स्नातक तह उत्तीर्ण गरिसकिन । अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर तह दोस्रो वर्ष र कानून विषय लिएर स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहेकी छिन।
“कम्लहरी बस्दा धेरै बालिकाहरु शारीरिक, मानसिक र यौन हिंसामा परे । कतिपयको मुद्दा अझै अदालतमा विचाराधीन छ भने धेरै अन्याय सहेर बसेका छन्”, उनले भनिन, “अन्यायको विरुद्धमा लड्नकै लागि कानून विषय रोजेकी हुँ ।” उनले अहिले आर्थिक आर्जनका काममा पनि आफूलाई केन्द्रित गरेकी छिन ।
मुक्त कमैया विकास मञ्चका कानूनी सल्लाहकार फकला थारूले आर्थिक अवस्था कमजोर भएका मुक्त कम्लहरीलाई अझै पनि सरकारले सम्झौता गरेअनुसार शिक्षामा छात्रावृत्ति नदिएको बताइन । मञ्चका अनुसार अहिलेसम्म कम्लहरी मुक्त गरिएको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १० मुक्त कम्लहरीले स्नातकोत्तर तह पढ्दैछन् भने १९१ स्नातक तहमा अध्ययनरत छन् ।
यस्तै ६८६ दशजोड दुई, २९६ ले कक्षा १०, एक सय ८५ले कक्षा ९, एक सय १६ले कक्षा ८, चवालिस जनाले कक्षा ७, बीसजनाले कक्षा ६, सोह्र जनाले कक्षा ५ मा अध्ययन गरिरहेका छन् । दाङमा ४८७, बाँकेमा ६७, बर्दियामा ३९५, कैलालीमा ४३३ र कञ्चनपुरमा १५१ जना मुक्त कम्लहरीले विद्यालय तहमा अध्ययन गरिरहेका छन् । रासस

























