देश/प्रदेश

सरकार धाँधली गरेर भए पनि उपनिर्वाचन जित्ने कोशिसमा छ : डा. महत

Banner

काठमाडौं, मंसिर ३-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताएका छन् ।

रिपोटर्स क्लब नेपाल काठमाडौंमा आज भएको साक्षात्कारमा उनले थपे,‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन् । सरकारमा बस्ने पार्टीका नेताले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिस्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनै पनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’

उनले मुलुकमा यतिबेला मूल्यवृद्धि संस्थागत भइरहेको बताए । कर बढिरहेको र आस्थाका आधारमा सेवासुविधामा भेदभाव भइरहेको पनि उनको टिप्पणी छ । उनले भने,‘जनताका पीर मार्काप्रति सरकार पूरै उदासिन छ । राज्य संयन्त्र, संवैधानिक निकायलाई र पुलिस प्रशासनलाई सरकारले आफ्नो छायाँमा राख्ने कोशिस गरिरहेको छ । त्यतिमात्रै होइन, यही उपनिर्वाचनमा पनि निर्वाचन घोषणा भएर आचारसंहिता लागू भइसकेपछि पनि आफूअनुरुप काम गराउनको लागि सरुवा बढुवादेखि ठूलो चलखेल भइरहेको छ । जुकसुकै मूल्यमा पनि चुनाव जित्नुपर्छ सरकारले साम, दाम, दण्डभेद प्रयोग गर्ने मनशायमा छ ।’

तर, सरकार पक्षका उम्मेदवारलाई पराजित गर्नुपर्छ भन्ने जनभावना आफूहरुले पाएको उनको दाबी छ । उनले भने,‘यो उपनिर्वाचनको परीणाम हाम्रो पक्षमा आउँछ । वडा सदस्यदेखि केन्द्रीय निर्वाचन पोखरासम्म नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह छ । समर्थन छ । हामी सबै एकताबद्ध भएर लागेका छौं । तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भए पनि आफ्नो पक्षमा परिणाम ल्याउने कोशिसमा छ । सञ्चारकर्मीहरुले खबरदारी गर्नुपर्छ । यो निर्वाचनमा परिवर्तनको पक्षमा परिणाम आउदा सरकारलाई सशक्त सन्देश जान्छ ।’

महतले वर्तमान सरकार पूरै असफल भएको पनि दाबी गरे । ‘यो हामीले भनिरहेको होइन, आम जनता सबै निराश छन् । जनताको कुरा छोडौं, कम्युनिस्ट पार्टीकै स्थानीय तहका नेता तथा कार्यकर्ताहरु नै असन्तुष्ट छन् । उहाँहरु यही उपनिर्वाचनको क्रममा नेपाली कांग्रेसको पक्षमा र समर्थनमा उत्रिनुभएको छ । सबै मोर्चामा यो सरकार असफल छ। भ्रष्टाचार संस्थागत भइरहेको छ । राजश्वको व्यापक दुरुपयोग भइरहेको छ । सरकारले आफैं उपभोक्ता समिति बनाउने अनि आफ्नो मान्छेमार्फत बजेट प्रवाह गर्ने काम भइरहेको छ । समग्र रुपमा सरकार ठीक बाटोमा छैन । परराष्ट्र सम्बन्धमा पनि सरकारको विश्वसनियता एकदमै कमजोर भइरहेको छ । लगानी आउन सकेको छैन । हाम्रा छिमेकी राष्ट्रहरुदेखि अरु राष्ट्रहरुसँग हामीले हाम्रो स्वार्थलाई केन्द्रमा राखेर सम्बन्ध विकसित गर्न सकेका छैनौं ।’ उनले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्् यसमा सरकारकै कमजोरीको कारणले भएको आफूहरुको ठहर रहेको सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>