इच्छकामना
चितवनको फिस्लिङ घटनाः आफन्तद्धारा मुग्लिनमा राजमार्ग अबरुद्ध

चितवन, मंसिर २-
चितवनको इच्छाकामना गाउँपालिका स्थित मुग्लिन बजारमा बाटो अवरुद्ध भएको छ । केहीबेर अघि स्थानीय र आफन्तले काठमाडौं जोड्ने मुख्य राजमार्ग अवरुद्ध गरेको मुग्लिन प्रहरीले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार अस्थाइ प्रहरी पोष्ट फिस्लिङ नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीले दावी गरेको छ । तर स्थानियले प्रहरीको कुटाईबाट मृत्यु भएको भन्दै विरोध जनाउँदै आएका छन् । यसैक्रममा स्थानीयले आजपनि बाटो अवरुद्ध गरेका हुन् । आइतबार पनि आफन्तले फिस्लिङमा तीन घण्टा राजमार्ग अबरुद्ध गरेका थिए ।
मृतक कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर आइतबार विहान फर्किने क्रममा गाडी भित्र कँडेलले अभद्र व्यवहार गरेपछि उनलाईसंगै रहेका प्रहरी जवानले अस्थाइ प्रहरी पोष्ट फिस्लिङमा राखेको प्रहरीले जनाएको छ । प्रहरी जवान शौचालय गएपछि चौकीबाट भाग्न खोज्दा कँडेलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले दाबी गरेका छन् । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ ।
स्थानीयका अनुसार इच्छाकामना मन्दिरबाट मृतक कँडेल र प्रहरी जवानसंगै गाडीमा फर्किएका थिए । फिस्लिङमा गाडीबाट ओर्लिएपछि कँडेललाई चौकीमा लगिएको थियो । स्थानीय र मृतकका परिवारले प्रहरी चौकीमा लगिएको व्यक्तिको रहस्यमय मृत्यु भएको भन्दै घटनाको निश्पक्ष छानविन गर्न माग राखेका छन् ।
























