चितवन विशेष
माडीको नमुना छात्राबासलाई लायन्सको सहयोग

चितवन, कार्तिक ३०-
माडी नगरपालिका–५ लक्ष्मी निवासमा रहेको नमुना छात्राबासलाई खाद्यान्न, स्टेशनरी र लत्ताकपडा सहयोग भएको छ ।
चितवन ग्रीन लायन्स क्लब, चितवन ग्रीन लेडी लायन्स क्लब र चितवन ग्रीन लियो क्लबले शुक्रबार हेल्पिङ सोसाइटी नेपाल नामको चेपाङ छात्राबासलाई उक्त सामग्री सहयोग गरेको हो ।
चितवन ग्रीन लायन्स क्लबका अध्यक्ष किशोरचन्द्र सापकोटाले उक्त सामग्री छात्राबासका सञ्चालक टीका आचार्य र व्यवस्थापन समितिका अध्यक्ष श्याम विष्टलाई हस्तान्तरण गरे । छात्राबासमा रहेका बालबालिकाका लागि लत्ताकपडा, शैक्षिक सामग्री, खेलकुद सामग्री र खाद्यान्नलगायतका सामग्री सहयोग गरिएको चितवन ग्रीन लायन्स क्लबका अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाले गर्नै काम चितवनका लायन्स क्लबहरुले गरेको भन्दै आभार प्रकट गरिन् । उनले धन भन्दा पनि मन ठूलो भएका व्यक्तिहरुको यस किसिमको सहयोगले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन् । यस्तै उनले छात्राबासलाई व्यस्थित बनाउने योजनामा नगरपालिका रहेको बताइन् । छिट्टै नै छात्राबासलाई नजिकै रहेको नवदुर्गा प्राविको खाली भवनमा सारिने उनले जानकारी दिइन् ।
छात्राबासका सञ्चालक टीका आचार्यले यस्तै सहयोगीहरुको सहयोगले बालबालिकालाई खुसी मिल्नुको साथै छात्राबास सञ्चालन गर्न पनि राहत मिल्ने गरेको बताए । यस्तै सहयोग प्राप्त हुँदै गए आगामी दिनमा अझै अन्य बालबालिकालाई पनि छात्राबासमा राख्न सकिने उनले बताए । अहिले छात्राबासमा ४० जना बालबालिकाहरु रहेको जानकारी दिँदै आचार्यले घर परिवार नभएका अन्य बालबालिकालाई पनि छात्रबासमा राख्ने योजना रहेको सुनाए ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिभक्त कँडेल, छात्राबास व्यवस्थापन समितिका अध्यक्ष श्याम विष्टलगायतले बोलेका थिए । संस्थाका कार्यक्रम सयोजक पूर्वअध्यक्ष एवम् जोन चियर पर्सन माधव रेग्मीले स्वागत मन्तब्य राखेको कार्यक्रम अध्यक्ष किशोरचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष सुमन कोइरालाले सञ्चालन गरेका थिए ।
यसैबीच भरतपुर महागरपालिका–११ निवासी विष्णुराम सेढाईले उक्त छात्राबासमा आश्रित तीन वर्षीय अन्जली तामाङको एक वर्षको शैक्षिक खर्च बेहोर्ने भएका छन् । छात्राबासमा आयोजित कार्यक्रमका बीच नै सेढाईँले उक्त घोषणा गरेका हुन् । तामाङको अध्ययनको लागि लाग्ने १२ हजार उनले बेहोर्ने भएका हुन् । उनले १२ हजार मध्यपहिलो चरणमा पाँच हजार उपलब्ध गराएका छन् भने बाँकी सात हजार छिट्टै उपलब्ध गराउने बताएका छन् ।
























