इच्छकामना
अपडेटः फिस्लिङमा अवरुद्ध बाटो तीन घण्टापछि खुल्यो

चितवन, मंसिर १–
चितवनको इच्छाकामना गाउँपालिका–३ पृथ्वीराजमार्गस्थित फिस्लिङमा अवरुद्ध बाटो तीन घण्टापछि खुलेको छ ।
आज दिउँसो १२ बजेदेखि स्थानीयले काठमाडौं जोड्ने राजमार्ग अवरुद्ध गरेको थियो । चौकीबाट भाग्ने क्रममा स्थानीय युवाको मृत्यु भएपछि स्थानीयहरुले शंकास्पद भन्दै बाटो अवरुद्ध गरेका थिए । जिल्ल प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता एकनारायण कोइरालाले स्थानीय, आफन्तसंगको सहमति पछि बाटो खुलाईएको जानकारी दिए । उनले घटना बारे थप अनुसन्धान हुने बताए ।
इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको अस्थाइ प्रहरी पोष्ट फिस्लिङबाट भाग्ने क्रममा नजिकैको भीरबाट लडेर आज विहान मृत्यु भएको थियो । मृतक कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । हिजो (शनिबार) राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर आज विहान फर्किने क्रममा गाडीभित्र कँडेलले अभद्र व्यवहार गरेपछि उनलाईसंगै रहेका प्रहरी जवानले अस्थाइ प्रहरी पोष्ट फिस्लिङमा राखेको थियो ।
प्रहरी जवान शौचालय गएपछि चौकीबाट भाग्न खोज्दा कँडेलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिए । स्थानीयका अनुसार इच्छाकामना मन्दिरबाट मृतक कँडेल र प्रहरी जवानसंगै गाडीमा फर्किएका थिए । फिस्लिङमा गाडीबाट ओर्लिएपछि कँडेललाई चौकीमा लगिएको थियो । सोही बेला कँडेल भीरबाट लडेको प्रहरीले जनाएको छ ।
























