चितवन विशेष
सीमा विवादः चितवनमा कविता मार्फत गरियो सीमा अतिक्रमणको बिरोध

चितवन, कार्तिक २६–
चितवनमा कालापानी, लिपुलेक, सुस्तालगायत नेपाली भूमीमाथि गरिएको भारतीय अतिक्रमणको कवितामार्फत बिरोध गरिएको छ । चितवनका कविहरुले मंगलबार अपरान्ह भरतपुरमा कविता प्रस्तुत गर्दै बिरोध जनाएका हुन् ।
भारतीय अतिक्रमणको विरुद्ध उन्मुक्त पुस्ता, मन्थन चितवन, प्रगशिल लेखक संघ चितवन, साहित्य संघ चितवनको संयुक्त आयोजनामा चौविसकोठीमा सडक कविता आन्दोलन गरेका हुन् । कविहरुले कविता मार्फत खबरदारी गर्दै टाउको र हातमा कालोपट्टी बाधेका थिए ।
उनीहरुले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भएको भन्दै स्वाभिमान जोगाउन कविता मात्र फिक्का भएको बताए । उनीहरुले सीमा संरक्षणका लागि शरीरमा बग्दै गरेको तातो रगत आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा कवि सरिता तिवारी, इन्द्र रेग्मी, राजेन्द्र घायल, रञ्जना लिम्बु, प्रकाश चापागाई, राजेन्द्र ढकाल, ज्ञानहरी पौडेल, डा एकनारायण भण्डारी लगायत दुई दर्जन भन्दा बढीले कविता वाचन गरेका थिए ।
























