नवलपुर

नवलपुरमा इन्सेकद्वारा तीन वर्षे कार्यक्रमको घोषणा

Banner

नवलपुर, कात्तिक २६–

मानव अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था इन्सेकले नवलपुरमा मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताकोे सहभागिता अभिवृद्धि कार्यक्रमको तीन वर्षे परियोजना सुरु गरेको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमा वकालत गर्ने उदेश्यसहित इन्सेक गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रमको सुरुवात गरिएको हो । नवलपुरको कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा कार्यक्रम सुरुवात गरिएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताए । मौलिक हकमै सुनिश्चित गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका लागि स्थानीय नागरिकलाई सुसूचित गर्ने मुख्य उद्देश्यसहित कार्यक्रमको सुरुवात गरिएको संयोजक खकुरेलले बताए ।

स्थानीय सरकारबाट नै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गर्नुपर्ने भए पनि अझै पनि गरिब, सिमान्तकृत, अल्पसंख्यक, महिला र पिछडिएको समुदाय यी अधिकारबाट बञ्चित हुँदै आएकाले उनीहरुलाई अधिकार दिलाउन सरकारलाई घच्घच्याउनका लागि यस कार्यक्रमले सहयोग पुग्ने खकुरेलको भनाइ छ ।

कार्यक्रम सञ्चालन हुने कावासोती नगरपालिकामा सोमबार र विनयी त्रिवेणी गाउँपालिकामा आइतबार मानवअधिकार समूह समेत गठन गरिएको छ । कावासोतीमा द्रोपती गुरौको संयाजकत्वमा १३ सदस्यीय र विनयी त्रिवेणीमा धर्मबहादुर जिसीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको इन्सेक गण्डकी प्रदेशकी कार्यक्रम संयोजक शवनम शर्माले जानकारी दिइन् ।

उक्त समूहले मानव अधिकार रक्षाका लागि स्थानीय समुदायलाई सचेत पार्ने र मानव अधिकार उल्लङ्घनका घटनाहरुमा सहजीकरण गर्दै अन्यायमा परेकालाई न्याय दिलाउन सम्बन्धित निकायलाई दबाब दिने कामसमेत गर्ने शर्माले बताइन् । कावासोतीमा सोमबार भएको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले इन्सेकले अन्यायको विरुद्ध वकालत गर्ने काम गर्दै आएको र न्याय समितिले पनि अन्यायमा परेकालाई न्याय दिलाउने काम गर्ने भएकाले सँगसँगै मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

मानव अधिकार रक्षाका लागि इन्सेक र न्याय समिति सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ छ । यस्तै कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष टेकनारायण महतो, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका सभापति मदनभक्त अधिकारी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटलगायतले दण्डहिनताको अन्त्य, राजनीतिक संरक्षण, सामाजिक कुसंस्कारलाई अन्त्य गर्न सके मात्रै मानव अधिकारको रक्षा हुने बताए । समाजभित्रका यस्ता कुसंस्कार अन्त्य गर्नका लागि मानवअधिकार समूहले काम गर्न आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

कावासोतीमा भएको कार्यक्रम इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलको अध्यक्षता तथा कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा इन्सेक नवलपुर जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>