चितवन विशेष

नारायणी नदीमा पानी जहाज सञ्चालनमा ढिलाइ, आवश्यक कानुन बनेन

Banner

चितवन, कात्तिक २४

चितवनको नारायणी नदीमा पानीजहाज सञ्चालन गर्ने भनिए पनि सञ्चालनको लागि आवश्यक कानुन नबन्दा समस्या आउन सक्ने देखिएको छ ।

सरकारले पानी जहाज कार्यालय स्थापना गरेको आठ महिना बितिसक्दा पनि पनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा समेत तयार पार्न सकेको छैन । आवश्यक कानुनी अभावका कारण सो कार्यालयले पानी जहाज रुट पहिचानको कामलाई समेत अघि बढाउन नसकेको कार्यालयका शाखा अधिकृत बल्लभ विष्टले स्वीकार गरे ।

विष्टले भने, ‘एकीकृत पानी जहाज ऐन निर्माणको कामलाई अघि बढाइएको भए पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन २ गते सो पानी जहाज कार्यालयको स्थापना गरेका थिए । तर पानी जहाज कार्यालय स्थापना भएको यतिधेरै समयसम्म पनि त्यसको कानुनको मस्यौंदा बन्न सकेको छैन ।

शाखा अधिकृत विष्टले भने एकीकृत पानी जहाज ऐनको मस्यांैदा बनाउने कामलाई गत साउनको अन्तिमबाट सुरु गरिएको र केही दिनभित्रै त्यसलाई अन्तिम रुप दिई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशक समितिमा पेस गर्ने योजना रहेको पनि बताए । कार्यालयले सो ऐनको मस्यौंदा बनाउन मल्ल कानुनी परामर्श सेवालाई दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो मस्यौदालाई अन्तिम रुप लिई क्याविनेटमा पेस गरेपछि त्यसलाई संसदमा लगेर कानुन निर्माण गर्न अझै केही समय लाग्नेछ । शाखा अधिकृत विष्टकाअनुसार कानुनको अभावमा जलमार्ग पहिचानको कामले पनि गति लिन सकेको छैन ।

सप्तकोसी, नारायणी र गण्डकी नदीमा पानी जहाज तत्काल सञ्चालन गर्ने सरकारको तयारी छ । शाखा अधिकृत विष्टले अन्य १० वटा आन्तरिक जलमार्गको पनि पहिचान गरिएको जानकारी दिए । सरकारले चालू आर्थिक वर्षभित्र जलमार्ग पहिचान गरी सञ्चालन गर्न आवश्यक बजेटको पनि व्यवस्था गरेको छ । तर कानुनको अभाव हुँदा यस कार्यले गति लिन सकेको छैन । चितवनको नारायणी नदीमा दसैँ अगाडिबाट नै क्रुज पानीजहाज सञ्चालनमा आउने भनिए पनि कात्तिकको अन्तिमसम्म पनि सञ्चालनमा आउने सम्भावना देखिँदैन । एकातिर कानुुनको अभाव नै देखिन्छ भने अर्काेतिर सञ्चालनको लागि पानीजहाज निर्माणको प्राविधिक काम पनि सकिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>