नवलपुर

ठूलो एकादशीमा नवलपुरका तीर्थस्थलमा धार्मिक मेला

Banner

ज्ञानु पंगेनी

नवलपुर, कात्तिक १९

नेपालीहरुको चाड ठूलो एककादशीको अवसरमा नवलपुरका विभिन्न तीर्थस्थलहरुमा धार्मिक मेलाको आयोजना गरिएका छन् ।

एकादशीका लागि विभिन्न तीर्थस्थलहरुमा मेलासँगै महोत्सव, खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएका छन् । एकादशीमा नवलपुरको कावासोती–१२ पिठौली स्थित नारायणी नदीमा ठूलो मेला लाग्ने गर्दछ । परापूर्वकालदेखि नै यहाँ एकादशीमा स्नान गर्ने, तोरण टाङ्ने, भजन कीर्तन गर्नेहरुको घुइँचो लाग्ने गरेको जानकारीहरु बताउँछन् । पिठौलीमा ठूलो एकादशीमा देशकै ठूलो धार्मिक मेला लाग्ने गरेको यहाँका अगुवाहरुको भनाइ छ ।

पछिल्लो समय यहाँ धार्मिक मेलासँगै व्यापारिक स्टल सांस्कृतिक कार्यक्रम, डुंगा सयर जस्ता मनोरञ्जनका कार्यक्रम पनि हुन थालेको छ । यस वर्ष ठूलो एकादशी कात्तिक २२ गते परेको छ । यहाँ स्थान गर्न देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउनेक्रम सुरु भइसकेको वडा नम्बर १२ का वडा अध्यक्ष खेमप्रसाद काफ्लेले बताए । एकादशीको अघिल्लो दिनबाट नै यहाँ मेला लाग्ने गर्छ भने भजन कीर्तनका कार्यक्रम समेत आयोजना गरिने अध्यक्ष काफ्लेले बताए । विश्व शान्ति महाबौद्ध गुम्बाको संयोजनमा यस वर्ष पनि यहाँ मेलाको आयोजना गरिएको अध्यक्ष काफ्लेले बताए ।

पिठौलीको ठूलो एकादशी मेला धार्मिक सहिष्णुताका रुपमा परिचित बनेको समेत अध्यक्ष काफ्ले बताउँछन् । एकादशी पर्व हिन्दू धर्मावलम्वीहरुले मनाउने भए पनि यहाँ तीर्थस्थल नजिकै रहेको गुम्बाको संयोजनमा मेला लाग्ने गरेको अध्यक्ष काफ्लेले बताए । एकादशीमा देशमै सबैभन्दा ठूलो जुवाको खाल जम्ने ठाउँ भनेर पनि चिनिने यस ठाउँमा पछिल्लो केही वर्ष यता भने प्रकाशनले बन्देज लगाएपछि हटेको छ । यस्तै कावासोती कै वडा नम्बर १५ गुन्द्रही खोलामा पनि एकादशी मेलाको आयोजना गरिएको छ । यहाँ पनि ठूलो एकादशीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको अगुवाहरु बताउँछन् । गुन्द्रही मेला यहाँको थारु समुदायमा प्रचलित छ । नवलपुरको थारु समुदायको तीर्थस्थलका रुपमा पूर्खादेखि नै चलिआएको वडा नम्बर १५ का वडा अध्यक्ष देवनारायण महतो बताउँछन् ।

गुन्द्रही र बाणखोलाको संगम स्थलमा थारु सम्ुदायले धार्मिक विधि अनुसार पूजाअर्चना र धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गर्दछन् । यहाँ पनि दुईदिनसम्म लाग्ने मेलामा स्थानीय उत्पादन र थारु समुदायको चिच्चर घोगी, माछाका परिकारहरु प्रदर्शनी गरिन्छ ।
यसैगरी जिल्लाको देवचुली नगरपालिका एक केउरेनी स्थित नारायणी नदी किनारमा पनि मेलासँगै सांस्कृतिक कार्यत्रक्रमको आयोजना गरिएको छ । मेलाको आकर्षणको रुपमा यस वर्ष एकादशी महात्मय कथा प्रवचन , १५० भन्दा बढी व्यापारिक स्टल , बाल उद्यान, जंगल सफारी , चर्चित लोक तथा दोहोरी गायक गायिकाहरुको प्रस्तुति रहने जनाइएको छ । दिव्य मध्यवर्ती सामुदायिक वनको आयोजनामा मेला हुन लागेको हो । मेला कात्तिक २१ र २२ गते हुनेछ ।

जिल्लाको पहाडी गाउँपालिका बौदीकालीको डेढगाउँमा पर्ने बालीघाटनमा पनि एकादशीमा धार्मिक मेलाको अयोजना गरिएको छ । कालिगण्डकी नदी बेसीमा रहेको पर्यटकीय तथा धार्मिक स्थल बालीघाटमा पनि परापूर्वकालदेखि नै एकादशीमा धार्मिक मेला आयोजना हँुदै आएको स्थानीय बताउँछन् । यहाँ नवलपुरको पहाडी क्षेत्र र तनहुँका बासिन्दा मेला भर्न आउछन् । एकादशीको दिन यहाँ पहाडी क्षेत्रमा उत्पादन हुने सुन्तला , शखरखण्ड, तरुल, पिडालु गेडागुडीलगायतका कृषि उत्पादनको खरिद बिक्री समेत हुने गर्छ भने तोरन टाङ्ने र भजनकीर्तन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओझाले बताए । यसपाली पनि धार्मिक मेलाको आयोजना गरिएको बालीघाट संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताए । एकादशीको अवसरमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>