नवलपुर
तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा शैक्षिक सामग्री वितरण

ज्ञानु पंगेनी
नवलपुर, कात्तिक १६-
तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड बर्दघाट–७ जिमिरेभार शाखाले १४ औं वार्षिकोत्सवको अवसर पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकले राष्ट्रिय माध्यमिक विद्यालय माकर बेतहानीका १६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी कलम र झोला वितरण गरेको हो ।
बैँकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तरगत विभिन्न सामाजिक काम गर्दै आएकोमा यस वर्ष शैक्षिक सामग्री वितरण गरेको बैँकका शाखा प्रबन्धक जगदिश जिसीले बताए ।
विद्यालयले छनौट गरेका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको जिसीले जानकारी दिए । कार्यक्रम शाखा प्रबन्धक जिसीको अध्यक्षता तथा वडा अध्यक्ष ध्रुव थारुको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्ष थारु, विद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेललगायतले बैँकले गरेको सहयोगले बालबालिकाको शिक्षामा ठूलो सहयोग गरेको बताए । आगामी दिनमा अझै राम्रा र ठूला किसिमका सामाजिक काम गर्न उनले कार्यक्रममा आग्रहसमेत गरे ।
























