देश/प्रदेश

मदन भण्डारी लोकमार्गको पूर्वी खण्डको ८० प्रतिशत सडक निर्माण

Banner

गाईघाट, कात्तिक १४-

पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ ।चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशतकार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताए ।

एकसय त्रिचालिस किलोमिटर सडकमध्ये ५० किलोमिटर सडक पूर्णरुपमा कालोपत्र भइसकेको र ८० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य अन्तिमचरणमा पुगेको र बाँकीको पनि कालोपत्र हुन लागेको उहाँको भनाइ थियो । उक्त सडक खण्डको ४३ पक्की पुलमध्ये ३३ पक्की पुल निर्माण भइसकेको र बाँकी १० पुलको निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्ममा सम्पन्न हुने प्रमुख खनालले बताए ।

सो सडक सम्पन्न गर्ने समयावधि आगामी कात्तिक महिनासम्म रहे पनि जेठ भित्रै सम्पूर्ण कार्य सम्पन्न हुने अवस्थामा पुगेको पनि उनले जानकारी दिए ।सो पूर्वी खण्डको सडक निर्माण र पुल निर्माणका लागि रु छ अर्ब बजेट उपलब्ध भएकामा रु चार अर्ब ५० करोड सडक निर्माण, कालोपत्र र नाला निर्माणका लागि तथा रु एक अर्ब ५० करोड ४३ वटा पुल निर्माणका लागि छुट्याइएको थियो । यस्तै उक्त लोकमार्गको पूर्वी क्षेत्र बाहेक सिन्धुलीको भिमान हुँदै हेटाँैडासम्मको पश्चिमी क्षेत्रको सडक खण्डमा पनि अहिले ५० प्रतिशत कार्य भइसकेको सो लोकमार्गका योजना प्रमुख राजेश पौडेलले बताए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>