चितवन विशेष
चितवनको जुगेडीमा सरकारी तौलपुल स्थापना गरिने

चितवन,कात्तिक ९-
सरकारले मालबाहक सवारीको तौल जाँच तौल पुल स्थापना गर्ने भएको छ ।तौलपुल स्थापनाका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । गत वर्षबाटै प्रक्रिया थालिने भनिएपनि सम्झौता गरेको कम्पनीले धोका दिएपछि काम अघि बढेको थिएन । अब पुनः टेन्डर आहृवान गरेर तौलपुल स्थापनाको प्रक्रिया सुरु गरिएको विभागका निर्देशक तथा प्रवक्ता तिर्थराज खनालले बताए ।
विभागका अनुसार चितवनको जुगेडी र महोत्तरीको बर्दिबासमा तौलपुल स्थापना गरिनेछ । मुग्लिन नारायणगढ सडकखण्डलाई लक्षित गरी जुगेडी र वीपी राजमार्गलाई लक्षित गरेर बर्दिबासमा तौलपुल राख्न लागिएको खनालले बताए ।
सरकारले राजमार्गहरुमा सवारीको एक्सलअनुसार भार क्षमता तोकेको छ । तर, सरकारको आफ्नो तौलपुल छैन, व्यवसायीहरुले चलाएको तौलपुलमा भर पर्नुपर्छ । त्यसमा चलखेल गरेर राजमार्गमा अधिक भार बोकेका सवारी गुड्ने र यसले सडकहरु छिट्टै जिर्ण हुने सडक विभागका अधिकारीहरु बताउँछन् । नवलपरासीको दाउन्ने, काठमाडौंको नागढुंगा लगायतका सडकखण्डमा छिट्टै सडक विग्रिनुमा यसको पनि भूमिका रहेको उनीहरुको तर्क छ ।
























