Uncategorized
महराले बयानमा भने– रोशनीको कोठामा गएकै छैन

काठमाडौँ कातिक ४
यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामै नगएको दाबी गरेका छन् । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिने क्रममा महराले यस्तो दाबी गरेका हुन् ।
आइतबारमात्रै रोशनीले समेत काठमाडौं जिल्ला अदालतमा निवेदन दिएर महरा आफ्नो कोठामा नआएको दाबी गरेकी थिइन् । तर, उनले दबाबमा आएर पटक–पटक आफ्नो बयान फेर्ने गरेको सरकारी पक्षको दाबी छ । आइतबार महरालाई अदालतले थप ५ दिनको समय अनुसन्धानका लागि दिएको छ ।
महराको भनाइ उद्धृत गर्दै सरकारी वकिल स्रोतले भन्यो, ‘‘म रोशनीको कोठामा गएकै छैन । सीसीटिभीमा समेत त्यो फुटेज छैन । ममाथि त्यसै आरोप लगाइएको हो । तर तीनकुने क्षेत्रमा कामले निस्किएको थिएँ ।’’ आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराले झण्डै ७ घण्टा बयान दिएका थिए । तर, उनले प्रहरीलाई साविती बयान दिन भने अस्वीकार गरेका थिए ।
























