राजनीति

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास आज,प्रधानमन्त्रीले शिलान्यास गर्ने

Banner

काठमाडौं,कात्तिक ४-

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाको ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

सोमबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो ।प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको रासससँगको कुराकानीमा जानकारी दिँदै उहाँले करिब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गर्नुभयो । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उहाँले सुनाउनुभयो ।

धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ । चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयोे । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र निर्माण हुने आयोजनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>