नवलपुर
१३ वटा डंगर प्रजातीका गिद्धलाई प्राकृतिक बाँसस्थानमा छाडियो

ज्ञानु पँगेनी
नवलपुर, कार्तिक २–
विश्वकै दुर्लभ डंगर प्रजातिका गिद्धलाई शनिबार एक औपचारिक कार्यक्रमका बीच प्राकृतिक बाँसस्थानमा छाडिएको छ ।
गिद्ध लोप हुनबाट बचाउने उद्देश्य अनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा कोरलिएका र त्यहाँ हुर्काइएका १३ वटा डंगर गिद्धलाई पिठौलीमा रहेको (रिलिज एभिएरीबाट) प्राकृतिक बाँसस्थानमा छाडिएको जटायू रेष्टूरेण्ट व्यवस्थापन समितिका संयोजक डीबी चौधरीले जानकारी दिए ।
गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा यी गिद्धलाई ९ महिना अघि पिठौलीमा रहेको (रिलिज एभिएरीमा ) ल्याएर राखी प्राकृतिक बासस्थान र जंगली गिद्धसँगै घुलमिल गराई प्राकृतिक बासस्थानमा छाडिएको चौधरीले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, डिभिजन वन कार्यालय नवलपुरका प्रमुख पूर्णेश्वर सुवेदीलगायतको उपस्थितिमा ती गिद्धहरुलाई प्राकृतिक बासस्थानमा छाडिएको हो ।
पहिलो पटक विसं. २०७४ को मंसीरमा ६ वटा गिद्ध र दास्रो पटक २०७५ को असोजमा १२ वटा गिद्ध प्राकृतिक बासस्थानमा छोडिएको जानकारी दिँदै संयोजक चौधरीले तेस्रो पटक यस वर्ष १३ वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको बताए ।
प्राकृतिक बासस्थानमा छाडिएको गिद्धको अवस्थाको बारेमा बुझ्न उनीहरुको शरीरमा ट्याग, जीपीएस ट्रयाकर जडान गरिएको चौधरीले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागको गिद्ध पुनस्थापना कार्ययोजना २०१६–२०१९ अनुसार चितवनको गिद्ध प्रजनन् केन्द्रमा जन्माइएको र हुर्काईएको लोपउन्मुख डंगर प्रजातिका गिद्ध पिठौलीको जटायु रेष्टुरेष्टमा विगतका वर्षहरुदेखि नै छाडिने गरिएको हो । यसअघि छाडिएका गिद्धहरु समेत प्रकृतिसँग राम्रोसँग घुलमिल भएको संयोजक चौधरीको भनाइ छ ।