नवलपुर

निडर र निस्कलंकित नेताको खाँचो छः मन्त्री पुन

Banner

ज्ञानु पँगेनी

नवलपुर, कार्तिक २–

नेपालमा अहिले निडर र निस्कलंकित नेताको खाँचो रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले बताएकी छिन् ।

कावासोतीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कावासोतीको रजत जयन्ती तथा शिव स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार मन्त्री पुनले सो कुरा बताएकी हुन् ।

नेपालको अहिलेको समसामयिक परिस्थिति प्रति इंकित गर्दै मन्त्री पुनले सरकारमा बसेर कलंकित काम गर्ने नेताहरुप्रति सहानुुभूति राख्न नहुनेमा जोड दिँदै भनिन्–‘अहिले नेपालमा दुई वटा कुराको जरुरी छ, पहिलो निडर र निस्कलंकित नेताको जरुरी छ । तपार्इँहरुले सबै नेताहरुलाई एउटै डालोमा हालेर गाली गर्ने होइन । लिडरभित्र पनि विभिन्न थरीका लिडर छन् । असल नेतालाई सहयोग गर्ने र गलत नेतालाई बहिस्कार गर्ने काम तपार्इंहरुबाट भयो भने, नेपाल सुध्रिन गाह्रो हुनेछैन । ’

यसैगरी मन्त्री पुनले नेपालका लागि दोस्रो जरुरी कुरा देशले जवाफदेही कर्मचारी संयन्त्रको माग गरिरहेको बताइन् । कर्मचारी संयन्त्र जवाफदेही भएमा नेपालको विकासका लागि नेताले देखेको सपना पूरा हुने मन्त्री पुनको भनाइ थियो । ‘सपना देख्ने अधिकार नेताहरुलाई छ । नेताले देखेको सपनालाई कार्यान्वयन गरेर पूरा गर्ने जिम्मेवारी कर्मचारीको हो । त्यसैले जवाफदेही कर्मचारीको माग यो देशले गरेको छ’ मन्त्री पुनले भनिन् ‘यी दुईटै कुरालाई सँगसँगै मिलाएर लान सकियो भने मात्रै संघीयता आएको आमनागरिकले महसुस गर्नेछन् । यसलाई विस्तारै सुधार गर्दै लैजाने म प्रतिबद्धता जनाउन चाहन्छु ।’

यसैगरी मन्त्री पुनले सामाजिक क्षेत्रको प्रसंग जोड्दै गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका धेरै गुनासोहरु आफूसँग आउने भएकाले स्वास्थ्य सेवालाई प्रभावकारी र शुलभ बनाउनका लागि मन्त्रालयले बजेट र नीति ल्याएको बताइन् । गण्डकी प्रदेशका नागरिकलाई स्वास्थ्य बनाउनका लागि मिर्गौला बचाउ अभियान सञ्चालन गर्ने तयारीमा मन्त्रालय रहेको बताइन् ।
प्रदेशमा आत्महत्या र सवारी दुर्घटनाको विकराल समस्या देखिएकोले यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि मन्त्रालयले काम सुरु गरेको समेत उनले बताइन् ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राज दिदी, गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ, ओमकला गौतमलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन अघि कावासोतीको फलफूलचोकबाट देवी देवताहरुको चैतन्य झाँकी प्रदर्शनीसहितको कलशयात्रा थानाचोक हुँदै सभापतिचोकबाट कुमारवर्ती क्याम्पस प्राङगणको कार्यक्रम स्थलमा पुगेर बिर्सजन भएको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कावासोती २०४७ सालमा सानो शाखा गीता पाठशालाको रुपमा सेवा सुरु गरी केही वर्षअघि कावासोतीमा आफ्नै भवनबाट सेवा सञ्चालन भइरहेको छ । पुरानो कावासोती निवासी तुलसी अर्यालले निःशुल्क जग्गा दान गरेपछि संस्थासँग आवद्ध विभिन्न व्यक्तिको सहयोगमा अहिले ट्रससहितको दुई तले भवन निर्माण सम्पन्न भएको छ । सेवा सुरु गरेको २९ वर्ष पुगेको भए पनि संस्थाले यसअघि रजत जयन्ती नमनाएका कारण अहिले मनाइएको ब्रह्मकुमारी शर्मिलाले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>