नवलपुर

नवलपरासी पश्चिममा फौजी किराले धान खसाप, पूर्वमा धान नपसाएर किसान चिन्तित

Banner

ज्ञानु पंगेनी

नवलपुर, कार्तिक २–

नवलपरासी पश्चिमका किसानले फौजी किराले धान नष्ट गरेपछि धान नपाक्दै धमाधम काट्न थालेका छन् । नवलपरासीको दक्षिणी क्षेत्रमा किसानले लगाएको धानमा फौजी किराले क्षती पुर्‍याएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १, २, ७, १२ को आसपासका चौपत्ता, जमुनिया, भटौलिया, बेलानी, जिमिरेभार गाउँलगायत प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका क्षेत्रमा किसानले लगाएको धान खेतीमा फौजी किराले धानको बाला काटेर सखाप पारेपछि बाध्य भएर धान नपाक्दै काट्न परेको किसान अनिरुद्र प्रसाद चौधरीले गुनासो गरे । वर्षामा दुःखले रोपेर स्याहार्ने बेलामा धानका बाला सबै किरो काटेर नष्ट गरेपछि लगानी पनि डुबेको र आउँदा दिनमा चामल बेसाएर खानुपर्ने बाध्यता सृजना भएको भन्दै चौधरीले दुःख ब्यक्त गरे ।

प्रतापपुर–२ का रविन्द्र चौधरीले लगाएको धानमा एकै रातमा पाँचं कठ्ठा भन्दा बढी क्षेत्रफलमा लगाएको धान फौजी किाराले एकै रातमा सखाप पार्‍यो । काट्नका लागि तयारी भएको खेतीमा किराले नोक्सान पुर्‍याएपछि निरास छन् । किसानको मर्कालाई बुझेर क्षतीपुर्ती दिन उनले माग समेत गरेका छन् । केही समय अघिबाट नै नवलपरासीमा फौजी किराको संक्रमणले धान खेती लगाएका किसानलाई चिन्तित बनाएको थियो । धानखेतमा फौजी किराको संक्रमण देखिन थालेपछि सो बारे जानकारी सम्बन्धित निकायमा गराइए पनि सुनुवाई गर्नतर्फ चासो नदेखाएको किसानले आरोप लगाएका छन् ।

नवपुरमा ‘गरिमा’ जातको धानमा बाला लागेन

नवलपुरमा–१५ प्रतिशत क्षेत्रफलमा लगाईएको ‘गरिमा’ जातको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाको कावासोती, देवचुली र गैँडाकोट नगरपालिकाका किसानको लगाएको धानमा बाला नलागेपछि किसानहरुले कृषि ज्ञान केन्द्र तथा सम्बन्धित स्थानीय तहमा क्षतीपुर्तीको माग गर्दै निवेदन समेत पेस गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र नवलपुर इकाई प्रमुख मिरा चौधरीका अनुसार कावासोती नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र १३ , देवचुली नगरपालिकाको वडा नं. १२ र गैँडाकोट नगरपालिकाको वडा नं १०, ११ र १२ मा ‘गरिमा’ धानमा बाला लागेको छैन् ।

पहिले अरु जातका उन्नत धान लगाउँदै आएका यहाँका केही किसानले यस पटक गरिमा जातको धान लगाएका थिए । अन्य धानमा फल लागेर धान काट्ने चटारो हुँदा गरिमा जातको धानको बाला नै नलागेपछि परालमै चित्त बुझाउनुपर्ने हो कि भन्ने चिन्ता छाएको देवचुलीका कृषक जगमोहन कंडेलले गुनासा गरे । ‘राम्रो फल लाग्ने उन्नत जातको बिउ भनेर पोकामा प्याक गरिएको बीउ लगाईयो तर, अहिले धान पलेर भित्र्याउने बेलामा धान पसाउन नसक्दा वर्षभरी खाने अन्नकै संकट लाग्ने भयो’–कृषक कंडेलले गुनासो गरे ।

जग्गा ठेक्कामा लिएर धान लगाएकी देबचुली–१० की कृषक सीता कुँवरले १० कट्ठामा लगाएको गरिमा धानमा बाला नै नलागेपछि आउँदो दिनमा के खाने भन्ने चिन्तासंगै जमिनको ठेक्काको रकम र खेती लगाउँदादेखि अहिलेसम्मको खर्च र मेहनत सबै खेर गएको दुखेसो पोखिन । किसानहरुको गुनासो बढेपछि स्थानीय तहका प्रतिनिधी तथा कृषि ज्ञान केन्द्रको रोहबरमा धान खेतीको अनुगमन समेत गरिएको थियो । अनुगमनका क्रममा अघिल्लो वर्ष गरिमा जातको धान लगाएर त्यही बीउ अहिले रोपेको धानमा भने बाला लागेको छ । तर यस वर्ष एग्रोभेटबाट गरिमा जातको धानको बीउ किनेर रोपेका किसानको धान खेतीमा भने बाला लागेको छैन ।

दसैंसम्म पाकि सक्नु पर्ने धानमा अहिले बल्ल फुल लागेको छ । १ सय २० देखि ३० दिन सम्ममा पाकि सक्नु पर्ने धान १ सय ४० दिनभन्दा बढि भैसक्दासम्म पनि अझै बाला लागेको छैन ।उनका अनुसार चितवनमा पनि अझै बाला लागिसकेको छैन । अब केही दिन कुर्नु बाहेक अरु उपाय नभएको चौधरीको भनाई छ । चितवन कै बीउको लट भएकाले परीक्षणका लागि नवलपुरबाट छुट्टै स्याम्पल भने नपठाइएको उनले बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>